आजबाट मौन अवधि सुरु, निर्वाचन गतिविधि गर्न नपाइने
कलाखबर ८,शुक्रबार– काठमाण्डौं । प्रतिनिधि सभा सद्श्यका लागि यही आइतबार हुन लागेको तीन क्षेत्रको उपनिर्वाचनका लागि आजदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन लक्षित गतिविधि आजबाट गर्न नपाइने भएको छ ।
निर्वाचन आयोगका अनुसार आजबाट राजनीतिक दल, उम्मेदवार तथा दलका पदाधिकारीलाई चुनावी प्रचारमा रोक लगाइएको छ । आजबाट सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार सामग्री सम्प्रेषण गर्न नपाइने भएको छ । मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मौन अवधि तोकेको हो ।
मतदान नसकिएसम्म मौन अवधि कायम रहनेछ । निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकिएको हो । मौन अवधिभर दल, तिनका भ्रातृ संगठन, उम्मेदवार, संघ संगठन लगायतले राजनीतिक प्रचार, भेला र गोष्ठी आयोजना गर्न नपाउने आयोगको आचारण निर्देशिकामा उल्लेख गरिएको छ ।
निर्देशिकाविपरीत मौन अवधिमा मतदाता प्रभावित पार्ने गतिविधि गरे उम्मेदवारी रद्ददेखि १ लाख रुपैयाँ जरिवानासम्मको कारबाही हुन सक्ने निर्वाचनसम्बन्धी कानुनमा उल्लेख छ । सामाजिक सञ्जालको पनि निर्वाचन आयोगले अनुगमन गर्ने जनाएको छ ।