Logo

निगमको कार्यलयमा भौतिक आक्रमन गर्ने अखिल क्रान्तिकारी विद्यार्थी संघको चेतावनी


राज कुमार राई,

मंसिर १९–काठमाण्डौं । नेकपा बहुमत निकट अखिल क्रान्तिकारी विद्यार्थी संघले आईतबार टेकु स्थित आयल निगमको कार्यलय घेराउ गरेका छन् । भारत सरकारले पटक पटक पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाउदा समेत जनताको ढाड सेक्ने गरि मूल्य बढाएको भन्दै उनीहरुले निगमको अगाडी विरोध प्रदर्शन गरेका हुन् । भ्रष्टचारी माफिया सरकारले तत्काल मूल्य समायोजन नगरे थप कारबाही सहितको आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् । उनीहरुले पेट्रोलियम पदार्थको नयाँ मूल्य निधारण गर, भ्रष्टचारी सरकार होसियार,जनता लुटन पाइदैन, जनताको जीवीका सहज गर, मंहगी नियन्त्रण गर, जनताको सुविधा सुनिश्चित गर लगायतका नारा लगाएका थिए । सरकारले एक हप्ता भित्र नयाँ मूल्य निर्धारण नगरे थप शसक्त कारबाही सहितको आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

अखिल क्रान्तिकारी संगठनका सचिव नवराज भट्टले सरकार लाचारीपन र भ्रष्टचारी भएको आरोप लगाउनु भएको छ । बढ्दो मंहगी र पेट्रोलियम पदार्थको जुन सञ्चालित मूल्य प्रणालीद्वारा यसलाई समायोजन गर्नु पथ्र्यो, त्यसको सट्टामा आयल निगम, भ्रष्ट पदाधीकारीहरु र नेपाल सरकारले सधैं जनताको ढाड सेक्ने गरि मूल्य बढाएको उहाले आरोप लगाउनु भएको छ । साथै भट्टले आयल निगमका कार्यकारी प्रमुख उमेश खालिङले एक हप्ताभित्र मूल्य निधारण नगरेमा जनता जनार्दनको आदेश अनुसार घिसारेर रोडमा पछार्ने सम्मको चेतावनी दिनु भएको छ ।

 

बिरोध सभालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारी केन्द्रिय उपाध्यक्ष विरेन्द्र शाहले अहिलेको सरकार नै भ्रष्ट र दलाल माफिया, लुटेरा भएको आरोप लगाउनु भएको छ । पटक पटक भारत सरकारले मूल्य घटाएर पठाउदा पनि नेपाल सरकार पेट्रोलियम पदार्थको मूल्य घटाउन तयार नभएको भन्दै शाहले आक्रोसको बर्षा पोखाउनु भएको छ ।  त्यस्तै गरि अखिल क्रान्तिकारी संगठनका कोषाअध्यक्ष दिपक बिष्टले पनि पटक पटक पेट्रोलियम पदार्थको मूल्य घटेर आउदा पनि नेपालमा यसको मूल्य समायोजन गर्न सरकार तयार नभएको आरोप लगाउनु भएको छ । यसलाई सरकारले तत्काल नयाँ मूल्य समायोजन गर्नुृ पर्ने यदि एक हप्ताभित्र पनि समायोजन नगरेमा कडा आन्दोलन सहित जन कारबाही गर्ने उहाले बताउनु भएको छ ।

अखिल क्रान्तिकारी संगठनका महासचिव रुपा बढा मगरले नेपालको कर्मचारी र सरकार नै भ्रष्ट भएको आरोप लगाउनु भएकी छिन् । भारत सरकारले पटक पटक मूल्य घटाएर पठाउदा पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य नघाउनुको पछाडी यहाको व्यावस्था नै भ्रष्ट र दलाल भएको उहाँले आरोप लगाउनु भएको छ । एक हप्ताको समय भित्र सरकार सच्चिन आफूहरुले मौका दिएको र त्यो समयमा पनि सरकार नसच्चिए जनकारबाही स्वारुप निगमको कार्यलयमा भौतिक आक्रमण गर्ने सम्मको चेतावनी उहाले दिनु भएकी छिन् ।

पेट्रोलियम पदार्थको मूल्य घटेर आउदा पनि नेपाल सरकारले कहिल्यै पनि यसको मूल्य समायोजन नगरेपछि अहिले आम जनताको समेत गुनासो बढ्न थालेका छन् । जनता समेत निराश भई रहेको बेला नेकपा बहुमत निकट अखिल क्रान्तिकारी बिद्यार्थी संगठनले आईतबार आयल निगमको कार्यलयमै बिरोध सभा गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्