Logo

बागमती प्रदेशसभामा सत्ता गठबन्धनको बहुमत सरकार बन्न सक्ने


मंसिर, ११ – काठमाडौं । बागमती प्रदेशसभामा सत्ता गठबन्धनको बहुमत पुग्ने भएको छ । बागमती प्रदेशका ६६ मध्ये ६० प्रदेशसभा निर्वाचन क्षेत्रको अन्तिम नतिजा आउँदा नेपाली कांग्रेस ठूलो दल बनेको छ । उसले २२ सिट जितेको छ भने नेकपा एमाले र नेकपा माओवादी केन्द्रले १२–१२ सिट जितेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, नेकपा एकीकृत समाजवादीले ५, हाम्रो नेपाल पार्टी र नेपाल मजदुर किसान पार्टीले १÷१ सिट जितेका छन् । यो सबै मतभार जोडदा सत्तागठबन्धनको बहुमत पुग्ने भएको छ । समानुपातिक पद्धतितर्फ १५ लाख मत गणना हुँदा नेकपा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो, राप्रपा तेस्रो र एकीकृत समाजवादी चौथो स्थनमा छ । कुल ११० सिटको प्रदेशसभामा सरकार निर्माणका लागि ५६ जना सांसदको समर्थन आवश्यक पर्छ ।

सत्ता गठबन्धनमा रहेका दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले पाएको सिट संख्या ३९ पुग्छ । समानुपातिकतर्फ दलहरुले हालसम्म पाएको मत हेर्दा सत्ता गठबन्धन फेरि पनि एक ठाउँमा उभिए बागमती प्रदेशमा सरकार गठनका लागि आवश्यक बहुमत पुग्ने देखिएको छ ।

आइतबार साँझसम्म बागमती प्रदेशसभाको समानुपातिकतर्फ खसेको १४ लाख ५६ हजार मत गणना हुँदा एमालेले ४ लाख २३ हजार ७११, कांग्रेसले ३ लाख ६६ हजार ६४९, राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख २४ हजार १६५ मत ल्याएको छ । माओवादी केन्द्रको २ लाख १२ हजार ४४३, नेपाल मजदुर किसान पार्टीको ६४ हजार १५०, एकीकृत समाजवादीले ४२ हजार ४७४ र हाम्रो नेपाली पार्टीले ४२ हजार २२२ मत पाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्