Logo

निर्वाचन क्षेत्र काठमाण्डौं २ बाट पूर्व सभामुख ओनसारी घर्ती मगरको उम्मेदवारी दर्ता


राज कुमार राई
२४,असोज – काठमाण्डौं । नेकपा माओवादी केन्द्रका नेत्री तथा पूर्व सभामुख ओनसारी घर्ती मगरले निर्वाचन क्षेत्र काठमाण्डौं २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिएकी छन् । बाम गठबन्धनको पक्षबाट उनले साझा उम्मेदवारी दिएकी हुन् । काठमाडौं २ मा संघीय संसदमा घर्तीसँगै प्रदेश क मा नेपाली काँग्रेसले धु्रव केसीलाई अघि सारेको छ भने ख मा एकीकृत समाजवादीले भरतप्रसाद फुँयाललाई टिकट दिएको छ ।

ओनसरी घर्तीले काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गरे लगत्तै चुनावी कार्यक्रम सुरु गरेकी छन् । पार्टीको निर्णय अनुसार ५ दलीय वाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार बनेकी उनले आइतबार काठमाडौं क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यलय थलीमा उम्मेदवारी दर्ता गरेकी हुन् । उम्मेदवारी दर्ता गरे लगत्तै उनी वेपत्ता परिवार भेट्न काठमाडौं २ मा रहेको कागेश्वरी मनोहरा वडा नम्बर ६ मूलपानीमा पुगेकी थिइन् ।

मूलपानी पुगेर माओवादी स्थायी समिति सदस्य समेत रहेकी घर्तीले बुद्धि पोखरेल ‘अमृत’का बाबा आमासँग भेटेर जितको शुभकामना तथा आर्शिवाद ग्रहण गरिन् । पोखरेललाई तत्कालिन राज्य पक्षबाट २०६१ सालमा बेपत्ता पारिएको उनका परिवारका सदस्यले बताएका छन् । पोखरेलको अवस्था अझै पत्ता लागेको छैन ।

रोल्पाली चेली घर्तीले अबको राजनीतिक जिवन काठमाडौं २ मा समर्पण गर्ने र यो क्षेत्रका जनताको सेवाका लागि अनुमति लिन आएको बताउँदै चुनावी कार्यक्रम सुरु गरेकी हुन् । वेपत्ता परिवारका सदस्यसँगको भेटमा उनले आफ्नो छोरा छोरी सम्झिन आग्रह गर्दै वेपत्ता छोराको सपना पूरा गर्न पनि माओवादी र आफ्नो जित आवश्यक रहेको बताईन ।

माओवादी जनयुद्धमा प्रत्येक्ष होमिएर सैन्य कमाण्डको नेतृत्व गरेकी घर्तीले आफ्नो जिल्ला रोल्पामा समेत सहिद तथा वेपत्ता परिवारको संख्या निक्कै ठूलो रहेको र त्यसको मर्म आफूले प्रत्येक्ष रुपमा अनुभव गरेको सुनाईन् ।

प्रतिक्रिया दिनुहोस्