Logo

खाद्य व्यवस्था तथा व्यापार कम्पनीद्वारा बुधबारदेखि खसी बोका बिक्री सुरु


राज कुमार राई
असोज,१४–काठमाण्डौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बुधबारदेखि खसी बोका बिक्री सुरु गरेको छ । नेपालीहरुको महान चाड्पर्ब देशैलाइै लक्षित गरि कम्पनीले यस वर्ष पनि खसी, बोका र च्याङ्ग्रा काठमाण्डौं उपत्यका भित्र्याएको छ । कम्पनीले पहिलो चरणमा करिब ५०० सय खशीबोका र २०० च्याङग्रा ल्याएको छ ।

खसी बोकाको मूल्य प्रतिकेजी ६ सय ७० रुपैयाँ र च्याङ्ग्राको मूल्य प्रतिकेजी १ हजार २ सय ५० मूल्य कम्पनीले तोकेको छ । बिहान १० बजेदेखि कम्पनीको थापाथलीमा रहेको प्रादेशिक कार्यालयबाट धमाधम बिक्रि भईरहेको छ । यो बर्ष दाङ, धादिङ र मकवानपुर लगायतका जिल्लाबाट खसीबोका र दार्चुलाबाट च्याङ्ग्रा ल्याइएको कम्पनीले जनाएको छ ।

गत वर्ष कम्पनीले खसीबोकाको मूूल्य प्रतिकेजी ६ सय ५० रुपैयाँ निर्धारण गरेको थियो । खरिद मूल्य नै बढेकाले यो बर्ष मूल्य बढ्न गएको कम्पनीले जनाएको छ । कम्पनीका नायब महाप्रबन्धक श्रीमणि राज खनालले च्याङ्ग्रा र खसीबोकामा प्रतिकेजी १० रुपैयाँ छुट दिइएको जानकारी दिए ।

छुटमा खरिद गर्दा उपभोक्तालाई खसीबोका प्रतिकिलो ६ सय ७० रुपैयाँ र च्याङ्ग्रा १२ सय ५० रुपैयाँ पर्ने भएको छ । कम्पनीका प्रादेशिक प्रमुख ज्ञानु थापाले खसी, बोका बजार मूल्यभन्दा सस्तोमा बिक्री वितरण भइरहेको जानकारी दिए । उनले खसी, बोकाको अभाव हुन नदिने र उपभोक्ताको मागअनुसार थप भित्र्याउने बताए ।

कम्पनीले बिहान १० बजे देखि अपरान्ह ५ बजेसम्म खसी, बोका बिक्री वितरणको व्यवस्था मिलाएको उनले बताए । कम्पनीबाट बिक्री हुने खसी बोकाको स्वास्थ जाँच गरिएको उनको भनाइ रहेको छ । नेपालमा यो वर्ष एक करोड २८ लाख १२ हजारको हाराहारीमा खसीबोका र बाख्रा उत्पादन हुनेगरेको पशु सेवा विभागले जनाएको छ । जसमा ४५ लाख खसी बोका मासुका लागि योग्य हुने विभागको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्