Logo

सोलुखुम्बुको तीन स्थानमा यात्रु सहायता कक्ष सञ्चालन, बढी भाडा लिए गुनासो गर्न प्रहरीको आग्रह


राज कुमार राई
११, असोज –सोलुखुम्बु । नेपाल प्रहरीले सोलुखुम्बुको ३ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेको छ । चाडपर्वलाई लक्षित गर्दै प्रहरीले सोलु दुधकुण्ड नगरपालिका–७ को जोरबौद्ध, पत्ताले र नेचासल्यान गाउँपालिकाको बिहिबारे बजारमा उक्त कक्ष स्थापना गरेको हो । चाडपर्वको मौका छोपेर व्यवसायीले मनपरी महङ्गो भाडा लिने, सवारी क्षमता भन्दा बढी यात्रु ओसार्ने लगायतको गैह्रकानुनी कार्य गर्ने भएकाले यात्रु सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ ।

सवारी साधनको निगरानी तथा यात्रुहरुलाई सहजिकरण गर्ने उदेश्यले स्थापना गरिएको सहायता कक्षमा कुनै पनि गुनासा या उजुरी गर्न सक्ने प्रहरी नायव उपरीक्षक सुनिल जंग शाहले बताउँनुभयो । यस अघि पनि चाडपर्वलाई लक्षित गरि स्थापना गरिएको यात्रु सहायता कक्षमा गुनासा आएको र कार्वाही समेत गरिएको सोलुखुम्बु प्रहरीले जनाएको छ । विभिन्न बाहना बनाउँदै यात्रु ठग्ने कार्य भइरहेको गुनासो बढेसंगै केही वर्ष अघि देखि सहायता कक्ष नै स्थापना गरि प्रभावकारी निगरानी बढाएको प्रहरी निरीक्षक राम किशोर शाहले जानकारी दिनुभयो । पछिल्लो समय देशको सबै जिल्लामा यो अभियान सञ्चालन गर्ने गरिएको छ ।

विगत दुई बर्ष अधि १८ सय देखि दुई हजार सम्ममा काठमाण्डौंबाट महाकुलुङ सम्म पुग्ने गरेको गाडी भाडा अहिले प्रति व्यक्ति चार हजार पुगेको छ । कोराना महामारीको मौकामा मनोमानी ढंगले बढाएको भाडादर अहिले सम्म पनि यथावट नै रहेको छ । यात्रुलाई ढाँड सेक्ने गरि यातायात व्यावसायीहरुले मनपरी भाडा बृद्धि गर्दा समेत यातायात समिति र सम्बन्धित स्थानीय सरकार चुपचाप बसेको छ ।

महाकुलुङ प्रवेश गर्ने गाडी टाटासुमो हो । सुमोले यात्रु फकाउने बहानामा काठमाण्डौंबाट महाकुलुङ जाने बेला यात्रुको कोठा कोठामा नै बिहानको २ ः ३० बजे पिक अप गर्छ । तर जब महाकुलुङ बुङ सम्म पुगेपछि भने आधा मान्छे झरिसक्यो तेलको भाडा उठदैन भन्दै बुङमा नै अलपत्र छोडिदिन्छन् । उल्टै रिजर्भमा जान आग्रह गर्छन् । बुङदेखि छेस्काम पुग्न करिब दुई देखि तीन घण्टा लाग्छ ।

प्रतिक्रिया दिनुहोस्