Logo

स्थानीय सरकारको अनुभुति दिलाउन महाकुलुङ गाउँपालिका वडा नं २ को प्रशासनिक घुम्ति सेवा काठमाण्डौं उपत्यकामा


 

राज कुमार राई
भाद्र,८– काठमाण्डौं । सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका वडा नं २ को कार्यलयले काठमाडौं उपत्यकामा बुधबार घुम्ति सेवा कार्यक्रमको उदघाटन गरेको छ । वडा भन्दा बाहिर रहेका आफ्ना नागरिकहरुलाई सहज सेवा दिने उद्देश्यले घुम्ति सेवा कार्यक्रमको योजना ल्याएको वडा अध्यक्ष प्रदीप कुलुङले बताउनु भयो । सेवा प्रवाह गर्नका लागी वडा नं २ का अध्यक्ष प्रदीप कुलुङ र वडा सचिव तेज प्रसाद आचार्यको टोली काठमाण्डौं उपत्यका आएका हुन् । कार्यक्रमलाई अनुगमन तथा उदघाटनको लागी महाकुलुङ गाउँपालिका अध्यक्ष सूर्य कुलुङ र उपाध्यक्ष विपना कुलुङ समेत उपस्थित भएका थिए ।

आफ्नो वडाका नागरिकहरु जिल्ला बाहिर रहेका बेला समेत स्थानीय सरकारको अनुभुति दिलाउन तथा भाषण भन्दा पनि काम गर्न आएको अध्यक्ष कुलुङले बताउनु भयो । घुम्ति सेवाबाट विशेष गरि २ नं वडा भित्रका नागरिकहरुका लागी पञ्जिकरण सम्बन्धी काम गरिने अध्यक्ष कुलुङले बताए । यस भित्र जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ता,बसाइँ–सराई, मालपोतको काम, नेपाली नागरिकता सिफारिस, प्रतिलिपी सिफारिस,सामाजिक सुरक्षा भत्ता नविकरण लगायतका सेवा प्रवाह गरिने अध्यक्ष कुलुङले बताउनु भयो । साथै उहाले यस्तो किसिमको सेवाबाट कोही कसैलाई नछुटन पनि आग्रह गर्नु भयो ।

महाकुलुङ गाउँपालिका वडा नं २ को कार्यलयले काठमाडौं उपत्यकामा रहेका आफ्नो नागरिकहरुका लागी बुधबारदेखि भदौ १३ गते सम्म निरन्तर सेवा दिने जनाएको छ । नागरिकहरुको माग र समस्याअनुसार समय थप घटबढ् हुने पनि अध्यक्षले जानकारी गराउनु भएको छ । भाद्र ८ गते देखि १३ गते भित्र कपन दुर्गा मन्दिर स्थित रहेको “गुद होप रेष्टुरेन्ट”बाट सेवा ग्राहीहरुले सेवा लिन सक्ने भएका छन् । वडा तथा पालिका भन्दा बाहिर रहेका आफ्ना नागरिकहरुका समस्यालाई मध्यनजर गर्दै उनीहरुको सुविधाका लागि उपत्यकामा घुम्ति सेवा सञ्चालन गर्न पालिकाको बैठकबाटै निर्णय गरेको महाकुलुङ गाउँपालिका अध्यक्ष सूर्य कुलुङले बताउनु भयो ।

यो सेवाबाट करोड भन्दा बढी जनताको पैसा बचत हुने पनि कुलुङको भनाई थियो । अध्यक्ष कुलुङले आफ्नो पालिकाभित्रका सबै वडालाई यस किसिमको सेवा प्रवाह गर्न निर्देशन दिएको बताउनु भयो । अब सबै वडाले नै ढिलो चाडो सेवा प्रवाह गर्नेमा पनि ढुक्क हुन विश्वास ब्यक्त गर्नु भयो । साथै उहाँले आफ्नो ९१ दिनमा भएका महत्वपूर्ण १० वटा काम र भावी दिनमा हुने अरु योजनाको बारेमा पनि खुलासा गर्नु भयो । घुम्ति सेवा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष विपना कुलुङले सरकार सञ्चालनको क्रममा अनेक बाधा अर्चन समस्याको भावजुत पनि उपत्यकामा सेवा प्रवाह गर्न पालिका सफल भएको बताइन्

साथै कुलुङले आवश्यकताका आधारमा वडाबाट हुने सबै सेवा महिनाको दुईपटक काठमाण्डौं उपत्यकामा सञ्चालन गर्ने बताइन् । यो सेवाबाट विशेष गरि विद्यार्थीलाई लाभ हुने उनको भनाई थियो । आफ्नो स्थानमा आएको घुम्ति सेवालाई सबैले सहयोग गर्न पनि उहाले आग्रह गर्नु भयो । महाकुलुङ गाउँपालिका वडा नं २ बाट काठमाडौं आई अस्थायी वा स्थायी रुपले बसोबास गर्दै आएका सम्पुर्ण नागरिकलाई बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म वडाले सेवा प्रदान गर्ने भएको छ । यस किसिमको सेवाबाट सेवाग्राही निकै उत्साहित भएका छन् ।

गाउँमा गएर लिनुपर्ने सेवा आफनै ठाउँमा आउदा आफूहरु निकै खुशी भएको सेवाग्राहीहरुले बताएका छन् । घुम्ति सेवा उद्घाटनसँगै सेवाग्राहीहरुले सेवा लिएका छन् । विशेष गरि जन्म दर्ता र विवाह दर्ता गर्नेको संख्या उल्ख्य रुपमा रहेको थियो । मुलपानी,साँखु,सात दोबाटो,चावहिल,गोंगबु,कपन र झापाबाट समेत सेवा लिन सेवाग्राही आएका थिए । सेवा अवधीभर करिब ३०० भन्दा बढी सेवाग्राहीले सेवा लिने अनुमान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्