Logo

दश हजार नेपाली नर्सलाई बेलायत सरकारले स्वास्थ्य क्षेत्रमा रोजगारीमा लैजाने पक्का


राज कुमार राई
भदौ, ६ – काठमाडौं । दश हजार नेपाली नर्सलाई बेलायत सरकारले स्वास्थ्य क्षेत्रमा रोजगारीमा लैजाने पक्का भएको छ । यस विषमा बेलायत र नेपाल सरकारबीच सोमबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । सिंहदरबारमा मन्त्रालयका सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवर समेत उपस्थित हुनु भएको थियो ।

समझदारीबाट नेपाली स्वास्थ्यकर्मीहरूलाई विधिसम्मत तवरले बेलायतको स्वास्थ्य क्षेत्रको रोजगारीमा सहज संलग्नताको वातावरण तयार हुने र जनशक्तिको विकासमा मद्दत पुग्ने मन्त्रालयले जनाएको छ । बेलायतमा स्वास्थ्य सेवामा कार्यरत रहदा नेपाली स्वास्थ्यकर्मीको सेवा सुविधा र अधिकार बेलायती स्वास्थ्यकर्मीसरह हुने व्यवस्था मिलाइएको छ । नेपाली स्वास्थ्यकर्मी छनौट, पदस्थापन, सेवा सुविधासम्बन्धी मापदण्ड हाल छलफलमा रहेको र यससम्बन्धी सबै व्यवस्था जिटुजी प्रक्रियाबमोजिम हुने सचिव अर्यालले बताए ।

परीक्षणको पहिलो चरणमा नेपाली नर्सहरूलाई बेलायतमा पदस्थापन गर्ने कार्यलाई इम्प्लिमेन्टेन्सनको प्रोटोकल स्पष्ट व्यवस्था गरिने र नियुक्ती प्रक्रियाका कुनै शुल्क नलाग्ने एवं रोजगारीका लागि छनौट भएकाहरूको लागतको शोधभर्नासमेत हुने सचिव अर्यालले बताए ।

त्यस्तै नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटले नेपाली स्वास्थ्यकर्मीहरूलाई बेलायतमा रोजगारी दिन पाउनु खुसीको कुरा भएको भन्दै आगामी दिनमा स्वास्थ्य क्षेत्रको निरन्तर सुदृढीकरण र आधुनिकीकरणमा सहयोग जारी रहने बताए । बेलायत सरकारले बेलायतको नेसनल हेल्थ सर्भिसेसअन्तर्गतका स्वास्थ्य संस्थाहरूमा काम गर्न १० हजार नेपाली नर्सिङ जनशक्तिको माग गरेको छ । तर, पहिलो चरणमा परीक्षणका रूपमा केही संख्यामा मात्रै नर्सहरू पठाइने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्