प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षका लागि नेपाल प्रहरीलाई हतियार अपुग, सेनासँग ‘बालगिरी गर्ने तयारी

६ भदौ, काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीलाई हतियार अपुग हुने भएको छ । हतियार अपुग भएपछि नेपाल प्रहरीले सेनासँग ‘बालगिरी गर्ने तयारी गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार निर्वाचन सुरक्षाको पहिलो घेरामा खटिने प्रहरीका लागि ठुला हतियारको समस्या छैन । तर, साना हतियार करिब २५ सय अपुग हुने प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकारीले बताए ।
अपुग हतियार सेनासँग सापट लिनेबारे छलफल भइरहेको छ’, ती उच्च अधिकारीले भने, ‘स्थानिय चुनावमा पनि हामीले सेनासँग लिएका थियौँ, यसपटक पनि सेनालाई प्रस्ताव गर्नेबारे छलफल भइरहेको छ । नेपाली सेनामा हतियार सापट लिनुलाई ‘बालगिरी’ भनिन्छ । केन्द्रीय सुरक्षा समितिको निर्देशन अनुसार प्रहरीले निर्वाचन सुरक्षा योजना बनाइरहेको छ । सामान्य, संवेदनशील र अतिसंवेदनशील मतदान स्थलमा प्रहरीको संख्या बराबर राख्नुपर्ने प्रहरी प्रधान कार्यालयको प्रस्ताव छ ।
सामान्य मतदान स्थलमा ३ प्रहरी ५ म्यादी, संवेदनशीलमा ३ प्रहरी ७ म्यादी र अति संवेदनशीलमा ३ प्रहरी ९ म्यादी प्रहरी राख्नेगरी छलफल भइरहेको प्रहरी प्रधान कार्यालयका ती अधिकृतले जानकारी दिए । प्रतिनिधिसभा र मतदानस्थल थपिने हुनाले प्रहरीले १ लाख २० हजार भन्दा बढी म्याद प्रहरी भर्ना गर्नुपर्ने प्रस्ताव गरेको छ । सो प्रस्ताव अर्थ मन्त्रालयमा पुगेको छ ।
स्थानीय तह निर्वाचनमा १० हजार ७ सय ५६ मतदान स्थल थिए । यसपटकको निर्वाचनमा वृद्धाश्रम, कारागार र सरकारी कर्मचारीले पनि भोट हाल्न पाउनेगरी मतदान स्थल थप्ने गरी निर्वाचन आयोगले तयारी गरिरहेको छ ।