Logo

बैदेशिक रोजगारको सिलसिलामा मेनपावरहरुले दुईलाख भन्दा बढी रकम असुलेको भन्दै श्रममन्त्रीसँग श्रमिकको गुनासो


 

६ भदौ, काठमाडौं । बैदेशिक रोजगारीको नाममा विभिन्न मेनपावरहरुले कानुन विपरीत मनोमानी ढंगबाट दुई लाख भन्दा बढी रकम असुल्दै आएको भन्दै आईतबार श्रमिकहरुले श्रममन्त्री शेरबहादुर कुँवरसँग गुनासो पोखेका थिए । श्रमिकले भोग्नु परेको विभिन्न समस्या फोनमार्फत प्रत्यक्ष रुपमा सुन्न उनी कल सेन्टर पुगेका थिए । सो क्रममा एक जना श्रमिकले मलेसियालगायत अन्य देशमा जान मेनपावरहरुले लाखौं रकम लिएको गुनासो सुनाए । सरकारले शून्य लागतमा नै खाडीका देश र मलेसियामा श्रमिक पठाउने नीति लिएको छ ।

अहिले म्यानपावर कम्पनीले मलेसिया जान नै २ लाख ५० हजारदेखि माथी रकम असुल्ने गरेका छन् । श्रममन्त्रीसँग एक श्रमिकका परिवारले रोजगारीका क्रममा विदेशमा मृत्यु भएका परिवारका सदस्यको शव ल्याउन नसकेको लगायतका गुनासो पनि पोखे । श्रमिकहरुको गुनासो सुनेपछि मन्त्री कुँवरले अब प्रत्येक आइतबार बिहान ११ बजेदेखि १२ बजेसम्म प्रत्यक्षरूपमा स्वदेश तथा विदेशमा रहेका श्रमिकहरुको चासो, गुनासो, समस्या र सुझाव सुन्ने प्रतिबद्धता व्यक्त गरे । उनले विदेश जाने श्रमिकलाई ठगी गर्नेलाई पीडितले प्रमाणसहित ल्याए तत्काल कानून अनुसार कारबाही गर्ने प्रतिवद्धता जनाए ।

उनले १० वर्ष अगाडि ठगी गर्ने समेत पक्राउ गर्ने काम भएको भन्दै ठगी गर्ने क्षणिक समयका लागि राम्रो भएपनि अन्त्यमा कानुनको कठघरामा ल्याउने अश्वासन दिए । मन्त्री कुँवरले धेरै श्रमिकका उजुरीहरु सम्बोधन गर्ने काम भएको र थोरै मात्र बाँकी रहेको बताए । श्रम स्वीकृत नगरी विदेशमा पुगेका, विदेशमा नै मृत्यु भएकालाई नेपाल ल्याउन केही कानुनी जटिलताहरु रहेको उनको भनाइ थियो । त्यो जटिलता समाधान गर्नका लागि मन्त्रालय कानुन निर्माणमा पनि लागेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्