आरक्ष पीडितलाई एक साताभित्र न्याय दिलाउने प्रधामन्त्रि देउवाको प्रतिवद्धता
राज कुमार राई,
कलाखबर,१४ पौष – काठमाण्डौं । राज्यबाट २०५८ सालमा जग्गा जमिन खोसिएपछि आरक्ष पीडित विस्थापित बनेकाहरुलाई प्रधानमन्त्रि शेरबहादुर देउवाले एक साताभित्र समस्याको समधान गरिदिने प्रतिवद्धता जनाएका छन् । सोमबार सरकारी निवास बालुवाटारमा कांग्रेस नेता एनपी साउद तथा युवा नेता शिरोमणी ओझाको नेतृत्वमा प्रधानमन्त्ती देउवालाई आरक्ष पीडितको समस्याबारे ध्यानाकर्षण गराएको थियो । साउदको नेतृत्वमा आरक्ष पीडित संघर्ष समितिका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री देउवाले साताभित्र समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् ।
तत्कालीन आरक्ष विस्तारका क्रममा देउवा प्रधानमन्त्री भएकै बेला विभिन्न बस्तीका नागरिकहरुलाई विस्थापित गरिएको थियो । विस्थापनको २० वर्षसम्म पनि पुनर्स्थापना नभएपछि पीडितहरु राज्यलाई दबाब दिन फेरि एकपटक राजधानी काठमाडौं आएका छन् । काठमाडौं आएको आरक्ष पीडित टोलीले वनमन्त्री रामसहाय यादवलाई भेटेर ध्यानाकर्षण गराइसकेको छ। समस्या समाधान गर्न अधिकार सम्पन्न आयोग बनाएर अघि बढ्ने वनमन्त्री यादवको आश्वासनपछि पीडितको टोलीले प्रधानमन्त्री देउवालाई भेटेको हो।
पीडितको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले विगतमा राजनीतिक अस्थिरताका कारण समस्या समाधान गर्न नसकिएको स्वीकार गर्दै अब कुनै हालतमा समाधान गर्ने दृद्धता व्यक्त गरे। देउवाले भने, ुअब म साँच्चिकै समाधान गर्छु। एक हप्ताभित्र रिजल्ट देखिनेछ। यसअघि पनि आश्वासन पाएको तर समाधान नभएको गुनासो पीडितहरुले गरेपछि देउवाले फेरि भने, ुयसपालि आरक्षको समस्या समाधान हुन्छ, हुन्छ । तपाईहरु ढुक्क हुनुस्।
भेटमा कञ्चनपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधित्व गर्ने नेता साउदले आफ्नो क्षेत्रका पीडितहरुको समस्या लामो समयदेखि समाधान हुन नसकेको र आफूले क्षेत्रमा जानसमेत समस्या भएको गुनासो प्रधानमन्त्री एवं पार्टी सभापति देउवासँग गरेका थिए। प्रधानमन्त्री देउवाको दृढ आश्वासनपछि आरक्ष पीडित संघर्ष समितिले आन्दोलनका कार्यक्रम एक सातालाई स्थगित गरेको छ।
जिल्लामा सडक चक्काजामदेखि सीडीओ कार्यालय घेराउसम्म गरेको समितिले राजधानीमा प्रधानमन्त्रीसहित दलका शीर्ष नेता भेट्ने र माग सम्बोधन नभए माइतीघरमा धर्नामा बस्ने कार्यक्रम बनाएर काठमाडौं आएको थियो। समितिका सचिव प्रेमदत्त भट्टले प्रधानमन्त्रीबाट सकारात्मक आश्वासन पाएकाले आफूहरु आशावादी रहेको बताए।