काँग्रेसमा देखिएको नेताहरुबीचको किचलो मंसिर २३ सम्म मिलाउन अल्टिमेटम,नभए नयाँ नेतृत्व चयन गर्ने युवाहरुको चेतावनी
राज कुमार राई,
मंसिर,२१–काठमाण्डौं । सभापतिमा चुनाव लड्ने दाबी गरिरहेका नेपाली काँग्रेसका चारजना नेताहरु रामचन्द्र पौडेल, डा। शशांक कोइराला, प्रकाशमान सिंह र डा। शेखर कोइरालालाई आपसमा मिलेर एकल उम्मेदवारी तय गर्न युवा नेताहरुले मंसिर २३ गतेसम्मको अल्टिमेटम दिएका छन् । होइन भने आफूहरुले नयाँ युवा नेतृत्व चयन गर्ने चेतावनी दिएका छन् । संस्थापन इत्तर पक्षबाट २३ गते बेलुकासम्म साझा उम्मेदवारी तय नगरिए युवाहरुले आफै प्यानल घोषणा गर्ने बताएका हुन् ।
आफूहरुले प्रशस्त मात्रमा गृहकार्य गरिरहेको र नेतृत्व पनि परिवर्तन हुनुपर्छ भन्ने चाहाना भएकोले तलबाट आउने साथीहरुको मत नबाँडियोस् भन्ने चाहेको, सोमबार डा। शेखर कोइरालाले आयोजना गरेको सम्पादकहरूसँगको छलफलमा सहभागी युवा नेता गगन थापाले बताउनु भयो । साथै २४ गते महाधिवेशन उद्घाटन हँुने भएकोले, २३ गते भन्दा उता आफूहरुले पर्खन नसक्ने पनि प्रस्ट रुपमा बताए ।
डा. शेखर कोइरालासँगै कार्यक्रममा उपस्थित अर्का नेता चन्द्र भण्डारीले देश नै डुब्न लागेका कारण आफूहरुले काँग्रेसमा नेतृत्व परिवर्तन चाहेको बताए । उनले भने, ‘पार्टीमा धेरै कुराहरु खस्किँदै गएको छ । कुनै पार्टीको मात्रै कुरा रहेन, समग्रमा नेपालको पोलिटिक्स नै बिग्रियो । त्यसकारण हाम्रो अभियान हो पार्टी सुधार्ने । पार्टी सुध्रियो भने राजनीति सुध्रिन्छ । राजनीति सुध्रियो भने देश सुध्रिन्छ भन्नु भयो ।
त्यसैगरी कार्यक्रममा सहभागी अर्का युवा नेता धनराज गुरुङले संस्थापन इत्तर पक्षबाट सभापतिमा दाबी गरिरहेका रामचन्द्र पौडेल, डा। शेखर कोइराला, प्रकाशमान सिंह र डा। शशांक कोइरालालाई २३ गतेभित्र मिल्न सुझाव दिए । मिल्न नसक्ने भए आफ्नो पक्षका जिल्ला सभापतिहरूलाई गोप्य मतदान गर्न लगाएर उम्मेदवार छान्ने चुनौती दिए ।
संस्थापन इत्तर पक्षका युवा नेता गुरुङले भने, ‘अहिले हामी जिल्ला सभापतिहरूकै टाउको गनिराखेका छौं भने आफ्नो पक्षका जिल्ला सभापतिहरू बसेर गोप्य मतदान गरौं, जसको बढी आउँछ, उही उम्मेदवार बनौं । नेता गुरुङले थपे, ‘यो पनि उहाँहरुले गर्न सक्नुभएन भने चन्द्रजी र गगनजीले भनेजस्तै हामी टिम बनाउँछौं, उपसभापति दुईटा, महामन्त्री दुईवटा, सहमहामन्त्री आठवटा ।
त्यसपछि सदस्यहरुको टिम बनाएर सभापतिमा हामीलाई यो मान्छे चाहिन्छ भनेर जानुपर्ने बाध्यात्मक परिस्थितिमा हामी पुग्न सक्छौं । यो अन्तिम विकल्प हो, २३ गतेभन्दा उता जान सक्ने परिस्थिति छैन । त्यस्तै गरि अर्का सहभागी पूर्वसांसद सरिता प्रसाईले काँग्रेस बिग्रियो भन्नेहरुले पनि पुरानै नेतृत्वलाई भोट हाल्ने गरेको गुनासो गर्दै परिवर्तन चाहने हो भने नयाँ नेतृत्व चुन्नुपर्ने बताइन् । अर्का युवा नेता बद्री पाण्डेले सुदुर पश्चिममा संस्थापन इत्तर पक्षको पोजिसन राम्रो देखिएको बताए ।