‘राई, शब्दलाई बहिष्कार गर्दै,आआफ्नो पहिचान लेखौ र लेखाऔ भन्ने किराँत महासंघको अपिल
कलाखबर ८,कात्तिक – कठमाण्डौं । आदिवासी किराँत महासंघले राष्ट्रिय जनगणना २०७८ मा ‘राई, शब्दलाई बहिष्कार गर्दै,आआफ्नो पहिचान लेखाउन अपिल गरेका छन् । ‘राई, शब्द पद मात्र हो, पहिचान होइन भन्दै महासंघले बिरोध जनाउदै आएको छ । महासंघ भित्रको १४ वटा आदिवासी किराँत समुदायले शनिबार सूचनामुलक विज्ञापण निर्माण गर्दै सामुहिक रुपमा यस्तो कुरा बताएका हुन् ।
जाति,भाषा र धर्ममा सुनिश्चित भएर आगामी जनगणनामा आ–आफ्नो पहिचान लेखाउन महासंघले सबै किराती समुदायहरुलाई सुझाव दिएका छन् । आ–आफ्नो वास्तविक पहिचान दिएर जनगणना सर्वेक्षकलाई नाम टिपाउदा मातृभाषी सबै सुमुदायलाई फाईदा हुने समेत महा संघले जनाएको छ । तर किराँत यायोकखाले भने इतिहास र पहिचान बोकेको हामी ‘राई, हो भन्दै आगामी जनगणना २०७८ मा ‘राई, शब्द नै लेखाउन आवहान गरेका छन् ।
आदिबासीहरु भित्र चाम्लिङ,बाहिङ,खालिङ,कुलुङ,थुलुङ,बान्ताव,नाछिरिङ,साम्पाङ,मेवाहाङ,जेरुङ,याम्फु,लोहोरुङ लगायतका २६ भाषा भाषीहरु छन् । अहिले यी भाषा भाषीहरु आपसमा कसैले ‘राई, शब्द लेख्ने र कसैले हामी ‘राई, होइन भन्दै विभिन्न धारणा राख्दै आएका छन् । यी नै समुदाय भित्रको किचलोले केही केही व्यक्तिहरु भने आफ्नो वास्तविक पहिचान के हो ? र के लेख्ने हो भन्ने कुरामा अलमल परेका छन् ।