Logo

कुलुङ भाषा र संस्कृतिमा आधारित सानिवा चलचित्रको छाँयाङ्कन हुँदै


कलाखबर,१२ असोज–काठमाण्डौं । गायक मन बहादुर कुलुङको कथा लेखन तथा निर्देशनमा कुलुङ भाषा र संस्कृतिमा आधारित सानिवा चलचित्रको छाँयाङ्कन सुरु भएको छ । कुलुङ जातिको धर्म संस्कृति,भेषभुषा भाषा र कला संस्कृतिमा आधारित ‘चलचित्र सानिवा’ सोलुखुम्बु मिडिया प्रालिको ब्यानरमा निर्माण भई रहेको छ ।

चलचित्रको छायाँकन सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकाको बुङ, छेस्काम गुदेल र काठमाडौको विभिन्न स्थानमा गरिने निर्देशक मन बहादुर कुलुङले जानकारी दिनुभयो। अहिले पहिलो चरणमा सोलुखुम्बु जिल्लाको महाकुलुङ छेस्काममा यो चलचित्रको छाँयाङ्कन भई रहेको छ ।

यस चलचित्रमा मित्र माया कुलुङ, राज कुलुङ, लक्ष्मण कुलुङ, सुमिना कुलुङ, तिर्थभगत कुलुङ, झलक माया कुलुङ, तिल जङ कुलुङ र बाल कलाकारमा प्रज्वल कुलुङ लगायतको मुख्य अभिनय रहने निर्माण टिमले जनाएको छ । पटकथा तथा निर्देशनमा मन बहादुर कुलुङ हुनुहुन्छ भने छायाँकन उमेश कुलुङको रहेको छ ।

चलचित्रमा कुलुङ जातिको शैक्षिक अवस्था देखि समग्र जनजीविका समेटिएको निर्देशक मन बहादुर कुलुङले जानकारी दिनुभयो। कुलुङ जातिको मुख्य थलो बुङ,छेस्काम गुदेल लगायतका स्थानहरुमा सुटिङ सकेर अन्तिम चरणमा काठमाण्डौंमा समापन गरिने निर्देशक कुलुङले कलाखबरलाई जानकारी दिए ।

चलचित्रमा कुलुङ भाषाकै गीत तथा पहिरण प्रयोग गरिएको छ । युमन खालिङ (मनुहाङ किराँती)को शब्द रचना तथा निर्देशक मन बहादुर कुलुङको एकल स्वर रहेको साल्पा सिलिछोमी बोलको गीत यो चलचित्रमा समावेश गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्