Logo

दशै तिहार लक्षित सुपथमूल्य पसल सञ्चालनमा, न्यूनतम दुई रुपैयादेखि अधिकतम दश रुपैयाँ सम्म प्रतिकिलो छुट


 

कलाखबर,१ असोज–काठमाण्डौं । असोज १ गतेबाट दशै तिहार लक्षित सुपथमूल्य पसल सरकारले देशभर सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थान (डिडिसी)सहितको सहभागितामा काठमाडौं उपत्यकामा १३ र मोफसलमा ६२ वटा सुपथ मूल्य पसल सञ्चालनमा आएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

शुक्रबार खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बागमती प्रादेशिक बिक्री केन्द्र थापाथलीबाट सुपथ मूल्य पसल उद्घाटन गरिएको छ । वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले थापाथलीको सुपथ मूल्य पसल उद्घाटन गरे ।

शनिबारबाहेक हरेक दिन बिहान १० देखि ५ बजेसम्म सञ्चालनमा आउने सहुलियत पसलमा साल्टको बिक्री केन्द्रबाट बिक्री हुने चिनी र नुनको लागि मात्रै कोटा तोकिएको छ । एक व्यक्तिले ६ किलो नुन र २ किलो मात्रै चिनी किन्न पाउने छन् भने अन्य वस्तु चाहेजति खरिद गर्न सकिने छ ।

                                                                                             कुन वस्तुमा कति छुट ?

चाडपर्वमा बजारमा उपभोक्ता मूल्य नियन्त्रण गर्न सञ्चालनमा ल्याइएको सुपथ मूल्य पसलमा बजार भन्दा कम्तीमा २ रुपैयाँमा सस्तोमा खाद्य वस्तु उपभोक्ताले खरिद गर्न सक्ने सरकारी दाबी छ । सहुलियत पसलमा उपभोक्ताले सबैखाले खाद्य वस्तुमा कम्तीमा दुई रुपैयाँदेखि बढीमा १० रुपैयाँसम्म प्रतिकिलोमा छुट पाउने खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीले जानकारी दिइन् ।

खाद्य र साल्टको दुवै पसलहरुमा नुन प्रतिकिलोमा दुई रुपैयाँ, चामल, दाल, चिउरा र आँटामा प्रतिकिलो पाँच रुपैयाँ छुट पाइने छ । यस्तै तोरी र सूर्यमुखीको तेलमा प्रतिलिटर ५ रुपैयाँ र भटमासको तेलमा प्रतिलिटर १० रुपैयाँ छुट पाइने छ । जिउँदो खसी बोकाको बिक्रीमा भने प्रतिकिलोमा १० रुपैयाँ सहुलियत पाइने सूचना अधिकारी न्यौपानेले बताइन् ।

दुग्ध विकास संस्थाको उत्पादन पनि छुटमा बिक्री केन्द्रमा हुने भएपनि कुन वस्तुमा कति छुट भन्ने निर्क्यौल नभएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । प्रतिकिलो न्यूनतम २ रुपैयाँदेखि अधिकतम १० रुपैयाँ सम्मको छुटले खासै उपभोक्तामा भने केही राहत मिलेको जस्तो देखिदैन । यो पसल सञ्चालनबाट उपभोक्तालाई भन्दा पनि सरकारलाई मात्र फाईदा भएको देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्