अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्रीको रुपमा रहेका कृष्णप्रसाद खनालले राजिनामा दिने तयारी
कलाखबर,१६ भदौ – काठमाण्डौं । बागमती प्रदेश अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारमा सहभागी सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनालले राजीनामा दिने भएका छन् । अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार गठन भएकै दिन खनाल मन्त्री बनेका थिए । खनालले एमाले परित्याग गरी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका कारण पदबाट राजिनामा दिन लागेका हुन् ।
एमालेमा अन्तरसंघर्ष चलिरहेको बेलामा आफु एउटा विचार समूहमा लागेको र त्यो विचार समूह नेकपा एकीकृत समाजवादी पार्टीको रुपमा दर्ता भएको खनालले बताए । त्यसैमा सनाखत पनि गरेकोले अब नैतिकताको आधारमा मन्त्री पदबाट राजिनामा दिने खनालले बताए ।
विगतमा माधव नेपाल खेमामै रहेकी अष्टलक्ष्मी शाक्य कित्ता परिवर्तन गरी दुई हप्ता अगाडि बागमती प्रदेशको मुख्यमन्त्री बनेकी थिइन् । बागमती प्रदेशका १२ सांसदले एमाले परित्याग गरी एकीकृत समाजवादी रोजेपछि उनी अल्पमतमा परेकी छन् । सरकार अल्पमतमा परेसँगै मुख्यमन्त्री शाक्यले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने भएको छ । मुख्यमन्त्री शाक्यको पद पनि धरापमा नै परेको छ ।