Logo

लुम्बिनी प्रदेशको बजेट कार्यक्रममाथी विपक्ष गठबन्धनको विरोध


कलाखबर असार,६–काठमाण्डौं । सरकारको वैधतामाथि प्रश्न उठाउँदै लुम्बिनी प्रदेशसभाका विपक्षी दलहरुले प्रदेशसभामा बजेटमाथिको छलफल बहिष्कार गरेका छन् । उनीहरुले अल्पमतको सरकारले ल्याएको बजेट स्वीकार गर्न नसकिने बताएका छन् । विपक्षी दलले अवरोध गरेपछि बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ । आर्थिक मामिला तथा योजनामन्त्री वैजनाथ चौधरीले असार १ गते आर्थिक वर्ष २०७८र७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाखको बजेट प्रस्तुत गरेका थिए ।

बजेटमाथि आइतबारदेखि प्रदेशसभामा छलफल गर्ने कार्यसूची थियो । बैठकको सुरुमै नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्रप्रसाद कनौडियाले सरकारको वैधतामाथि प्रश्न उठाउँदै बजेटमाथि छलफल हुन नसक्ने बताए । उनले अल्पमतको सरकारले ल्याएको बजेटमा छलफल हुन नसक्ने र त्यस्तो बजेटलाई प्रदेशसभा र विपक्षी दलले स्वीकार नगर्ने बताएका थिए ।

सरकारले वैधानिकता प्रमाणित गरोस्, त्यसपछि मात्र हामी बजेटमा छलफल गर्न तयार छौं,’ कनौडियाले भने, ‘विपक्षी दल र प्रदेशसभाले बजेटको स्वामित्व लिनका लागि संसदमा सरकारको वैधानिकता पुष्टि हुनुपर्छ । कनौडियाले बोलेलगत्तै विपक्षी दलका सांसदहरुले बैठक वहिष्कार गर्दै बाहिरिएपछि सभामुख पूर्णबहादुर घर्तीले ३ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए ।

माओवादी केन्द्रका सचेतक तुलाराम घर्तीले मुख्यमन्त्री शंकर पोखरेल गत वैशाख १९ गते कीर्ते र जालसाजी गरेर नियुक्त भएकाले असंवैधानिक सरकारले ल्याएको बजेट छलफल बहिष्कार गरेको बताए । उनीहरुले यो बजेट प्रदेशको विकास गर्ने नभएर एमालेको कार्यकर्ता पोस्ने मात्र भएको आरोप लगाए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्