Logo

एमालेको छुट्टाछुट्टै बैठक बस्दै,ओलीसँग कुनै पनि हालतमा नमिल्ने माधवको संकेत


जेष्ठ,१९,कलाखबर–काठमाण्डौं । अन्तिम अवस्थामा एमाले फुटको संघारबाट जोगाउन ओली पक्षले देखाएको लचक्ता प्रति माधव कुमार नेपाल कठोर बनेको छ । अब उनले कुनै पनि हालतमा ओलीसँग सम्झौता नगर्ने बताएका छन् । आज ओली पक्ष र माधव पक्ष छुट्टाछुट्टै बैठक बस्दै छ । तर ओली पक्षले माधव समूहको बैठक अवैधानिक भएको भन्दै त्यसमा कोहीलाई पनि सहभागी नहुन आग्रह गरेका छन् ।

ओली पक्षीय स्थायी कमिटी बैठक आज अपरान्ह ४ बजे बस्ने भएको छ भने खनाल नेपाल पक्षीय केन्द्रीय समितिको बैठक आज बिहान ११ बजे भर्चुअल बैठक बस्दै छ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि बैठक बोलाइएको र आज बिहान ११ बजे बैठक सुरू हुने नेता निरज आचार्यले बताए। एकताको प्रयास र विभाजनको तयारीका बीच एमालेका दुई पक्ष विहीबार आन्तरिक छलफल गर्दै छन् ।

काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका खनाल, नेपालसहित ११ जनालाई पार्टीबाट निकालेर ओली पक्ष एकताको प्रयास गरिरहेको छ । यद्यपि ओली पक्षबाट नेपाल पक्षका केन्द्रका १२ जना र सुदूरपश्चिमका १० जना नेतामाथि गरिएको कारबाहीको तयारी रोकिएको छ । ओली पक्षले नेपालसहितका केही नेता बाहेकलाई बाहिर राखेर एकताको प्रयास गरिरहेको छ ।

त्यसमा माधव नेपाल पक्षमा नेताहरु घनश्याम भुसाल सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण बिष्ट लागि परेको देखिन्छ । उनीहरुले केही दिनयता ओली पक्षसँग निरन्तर छलफल गरिरहेका छन् । आफ्नो निर्देशन विना ओली पक्षसँग उनीहरुले गरिरहेको वार्ताप्रति असन्तुष्ट नेता खनाल र नेपालले आज केन्द्रीय कमिटीमा छलफल गरेर आगामी रणनीति बनाउने बुझिएको छ ।

दुवै पक्षका दोस्रो पुस्ताका नेताबीच संवाद चलिरहेका बेला नेता नेपालले ओलीको सन्देश आफ्नो समूहलाई ‘फुटाउने र राज गर्ने’ नीतिका रूपमा आएको बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस्