नेकपा एमालेको स्थायी कमिटी बैठक आज ११ बजे बस्दै
कलाखबर,१८,जेष्ठ–काठमाण्डौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज ११ बजे बस्ने भएको छ । विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताए। आजको बैठकमा विशेष गरि सत्ता समकिरण र पार्टीको आन्तरिक बिषयमा छलफल हुने भएको छ ।
आइतबार तोकिएको बैठक लुम्बिनी प्रदेशको राष्ट्रिय सभा निर्वाचनका कारण स्थगित गरिएको थियो । बैठकमा विशेष गरी शनिबार अध्यादेशमार्फत् ल्याइएको बजेटको समीक्षा तथा पार्टीको आन्तरिक वातावरणबारे छलफल हुने छ।
त्यस्तै बैठकमा यसअघिको बैठकले १२ जना सांसदलाई स्पष्टीकरण सोधेको र उनीहरुलाई के कारबाही गर्ने भन्ने बारेमा पनि निर्णय हुन सक्ने तामाङको भनाई छ ।
स्पष्टीकरण सोधिएकाहरुमा घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन्।
यसअघि एमाले संस्थापन पक्षले वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष भीम रावललगायत ११ जनालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ।