Logo

आज महाशिवरात्री,पशुपतिमा भक्तजनहरुको भीड


२७,फागुण–काठमाण्डौं । बिहीबार शिवरात्रिको अवसरमा देशभरका शिवालयहरूमा श्रद्धालुहरूको भिड लागेको छ । यसैबीच काठमाडौंस्थित पशुपतिनाथको मन्दिरमा बिहानैदेखि शिवभक्तहरूको घुइँचो लागेको छ । यद्यपि पशुपतिनाथ मन्दिरमा यसवर्ष कोरोनाको प्रभावका कारण पोहोर सालको तुलनामा माहोल भने कम भएको छ । यसवर्ष पशुपतिको मूल मन्दिरमा प्रवेश गर्दा मास्क अनिवार्य गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषका अनुसार बिहीबार बिहान ९ बजेसम्ममात्रै २ लाख जनाले पशुपतिमा दर्शन गरेको अनुमान गरिएको छ । पशुपति मूल मन्दिर परिसरमा बस्ने नागाबाबाको संख्या पनि करिब १०० मात्र रहेको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयले जनाएको छ ।

विगत वर्षमा ४५० देखि ५०० नागाबाबा पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिको अवसरमा दर्शनमा आउने गरेको अभिलेख कार्यालयसँग छ । नागाबाबा सबैजसो भारतका विभिन्न स्थानबाट आउने गरेकोमा यस वर्ष कोरोनाका कारण संख्या घटेको कार्यालय प्रमुख उमा आचार्यले जानकारी दिइन् ।

कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले लाइनमा बसेका श्रद्धालुहरूलाई आधा घण्टामा नै मूल मन्दिर प्रवेश गर्न सक्ने गरी व्यवस्था गरिएको जानकारी दिए । यसवर्ष शिवरात्रिमा राष्ट्रपति विद्यादेवी भण्डारी पशुपति आउनेबारे बिहानसम्म कोषलाई जानकारी नभएको खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस्