Logo

नेम प्लेट राख्ने बिषयमा कैलालीमा ओली र नेपाल समूहबीच झडप


२६,फागुण–काठमाण्डौं । कैलालीमा ओली र नेपाल समूहबीच झडप भएको छ । प्रदेश पार्टी कार्यालयमा प्रदेश इन्चार्जको नेम प्लेट राख्ने विषयमा विवाद हुँदा केपी शर्मा ओली र माधवकुमार नेपाल समूहका कार्यकर्ता बीच कुटाकुट भएको हो । पार्टी कार्यालयमा प्रदेश इन्चार्जमा लेखराज भट्टको ‘नेम प्लेट’ राखेपछि नेपाल समूहका कार्यकर्ताहरुले ‘नेम प्लेट’ तोडफोड गरेका थिए ।

उनीहरूले नेकपा एमालेको सुदूरपश्चिम इन्चार्ज भीम रावल रहेको भन्दै भट्टको नेम प्लेट हटाए । यस क्रममा ओली समूह र नेपाल समूहका कार्यकर्ता नाराबाजीमा उत्रिएका थिए । विवाद बढ्दै गएपछि कुटाकुट भएको हो । बुधबार प्रदेश पार्टी कार्यालयमा नेकपाको ब्यानर हटाएर नेकपा एमालेको ब्यानर राख्ने कार्यक्रम तय भएको थियो । ११ बजे नेकपा एमालेको ब्यानर लिएर प्रदेशका अध्यक्ष कर्ण थापा पार्टी कार्यालयमा पुगेका थिए ।

प्रदेश अध्यक्ष थापा कार्यालय प्रवेश गर्दासम्म नेकपाको ब्यानर हटाएर एमालेको ब्यानर राखिसकिएको थियो । नेपाल समूहका कार्यकर्ताहरुले ब्यानर राखेका थिए । थापा प्रवेश गर्दा प्रदेश पार्टी कार्यालयमा अध्यक्षको कार्यकक्ष बाहिर भानुभक्त जोशी र इन्चार्जमा भीम रावलको नेम प्लेट थियो ।

त्यही समयमा दुवै जनाको नेम प्लेट निकालियो । ती दुई स्थानमा कर्ण थापाको र लेखराज भट्टको नाम राखिएको थियो । त्यस लगत्तै नेपाल समूहका कार्यकर्ताहरुले लेखराज भट्टको नेम प्लेट हटाएका थिए । उनीहरूले पार्टीको प्रदेश इन्चार्ज भीम रावल रहेको दाबी गरे ।

 

प्रतिक्रिया दिनुहोस्