नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने

२५,फागुण–काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने भएको छ। त्यसको लागि अध्यक्ष प्रचण्डले आज दिउँसो १ बजे स्थायी कमिटी सदस्यहरुलाई बोलाएका छन् ।पार्टी मुख्यालय पेरिसडाँडामा बैठक बस्दैछ । नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री ओलीले अब विश्वासको मत लिनुपर्छ । ओलीले माओवादीले समर्थन फिर्ता लिए आफूले विश्वासको मत लिने यसअघि नै बताईसकेका छन् ।
उता धुम्बाराहीको केन्द्रीय कार्यालयमा नेकपा एमालेको बोर्ड राखिएको छ । सर्वोच्च अदालतको फैसलाबाट पुनःस्थापित नेकपा एमालेले आज बिहान केन्द्रीय कार्यालय धुम्बाराहीमा नेकपाको साइनबोर्ड फालेर नेकपा एमालेका बोर्ड राखेको हो । सर्वोच्च अदालतले एमाले ब्यूँताइदिएपछि एमालेका कार्यकर्ताहरुले विभिन्न जिल्लाहरुका पार्टी कार्यालयहरुमा नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राख्न शुरु गरेका थिए । धुम्बाराही पार्टी कार्यालयबाट आज देशभरको पार्टी कार्यालयहरुमा एमालेको बोर्ड राख्न निर्देशन दिइएको बताइएको छ ।
नेकपा माओवादी केन्द्रले पनि आजै पेरिसडाँडामा बोर्ड फेर्ने तयारी गरेको छ । यसअघि एकीकरणपछि पार्टी कार्यालयमा रहेको नेकपाको बोर्ड झिकेर एकीकरण पहिलेकै पार्टीको बोर्ड राखिने माओवादी केन्द्रका नेता गणेश शाहले जानकरी दिनुभयो । एकतापछि दुवै ठाउँमा नेकपाका केन्द्रीय कार्यालय रहेको थियो । अब एमालेको केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी केन्द्रको कार्यालय पूर्ववत् पेरिसडाँडा नै हुने भएको छ । २०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र मिली नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का गठन भएको थियो ।