Logo

टुँडिखेलबाट नेपाली सेना हटाउन नागरिकहरुको माग


७,फागुण–काठमाण्डौं । नागरिकहरुले टुँडिखेलबाट नेपाली सेना हटाउन माग गरेका छन् । शुक्रबार दिउँसो आयोजित काठमाडौंको टुँडिखेल छेउ सैनिक अस्पतालको ठीक अगाडिको डबलीमा भएको बृहत नागरिकहरुको आन्दोलनमा बोल्दै उनीहरुले त्यस्तो कुरा बताएका हुन् । टुँडिखेल नागरिकको भएकोले त्यसलाई बगैँचाको रुपमा विकास गराउनुपर्ने उनीहरुको माग थियो ।

कार्यक्रमको प्रमुख वक्ता रहेका पत्रकार नारायण वाग्लेले लिच्छिवीकालमा टुँडिखेल क्षेत्रदेखिको ठूलो भागमा उखु खेती हुने गरेको बताउँदै सेनाले कब्जा गरेको टुँडिखेल खुला गराउन माग गरे । उनले माइतीघरदेखि लैनचौरसम्मको विशाल उखुचौर, नागरिकको सम्पत्ति कब्जा गरेर शासकले नारायणहिटी, बागदरबार, लाललदरबार, सेतो दरबारका साथै छाउनीमा रहेको सेनाको मुख्यालय समेत टुँडिखेलमा सारिएको बताए ।

उपत्यका बाहिरबाट आएका यात्रु बस्ने चौतारो मासेर त्यसलाई रत्नपार्क बनाएर त्यहाँ जान पनि पैसा तिर्नुपर्ने बनाइएको, पञ्चायतकालमा सेनाले टुँडिखेल कब्जा गरेपछि लिच्छिवीकालदेखी फागुको चीर टुँडिखेलमा सेलाउने परम्परा हटेको, विकासको नाममा ढुङ्गेधारा मासिएको, सडक बिस्तारका नाममा प्राचीन सम्पदा मास्ने काम भएको उल्लेख गरे ।

उनले भने– ‘म आज हाम्रा शासकहरुलाई सोध्न चाहन्छु, तिमीले भट्टयाउने गरेको विकास के हो रु दुई हजार वर्ष लगाएर समुदायले बनाएको यो नेपाल मण्डल आज के भयो रु पानी सञ्चय र प्रशोधन गर्ने त्यो विशाल उखुबारी र नर्कटघारीलाई कबाज मैदान बनाएपछि काठमाडौं काकाकुल बनेको थाहा छ कि छैन रु उनले काठमाडौं आफै समृद्ध थियो भन्दै राज्यले भन्ने गरेको समृद्धिको नारा षडयन्त्र हो कि हैन भन्दै प्रश्न गरे ।

कार्यक्रमका अर्का वक्ता खगेन्द्र संग्रौलाले टुँडिखेलबाट नेपाली सेना हटाउन आग्रह गरे । उनले कुनै पनि देशको सभ्य शहरमा व्यवस्थित बँगैचा, पुस्तकालय हुने बताउँदै बाक्लो बस्ती र शहरमा सेनाको मुख्यालय नहुने बताए । त्यसैले टुँडिखेलबाट सेना हटाउनुपर्ने उनको भनाई थियो । नेपालको सेना राजाले पालित पोषित रुपमा हुर्केको नोकरको रुपमा रहेको टिप्पणी गर्दै उनले सेना बस्तीभन्दा टाढा बस्नुपर्ने उल्लेख गरे ।

शासकहरुले डराएर सेनालाई शहरको मुख्य भागमा राखेको बताउँदै टुँडिखेलमा कुकुरले पनि प्रवेश पाउने तर जनताले नपाउने गरेको बताए । संग्रौलाले टुँडिखेल नागरिकको भएको उल्लेख गर्दै त्यसलाई पार्क बनाउनुपर्ने र त्यसका लागि जनताले एकदिन ढोका फोडेर प्रवेश गर्ने दावी गरे ।

नागरिक आन्दोलनमा खोकनामा विकासका नाममा साँस्कृृतिक सम्पदा मास्ने काम भएको, चितवनमा सेनाले गरिब चेपाङ समुदायमाथि अन्याय गरेको बताइएको थियो । कार्यक्रममा महिला, आदिवासी जनजाती, मधेसीको अधिकारका बारेमा विचार तथा कविताहरु प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्