Logo

बागमती प्रदेशसभाको बैठक आज बस्दै


 

५,फागुण–काठमाण्डौं । बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ । नेकपाको प्रचण्ड(माधव समूहको दबावपछि सभामुख सानुकुमार श्रेष्ठले आज दिउँसो दुई बजे प्रदेशसभा बैठक बोलाएका हुन् । प्रदेशसभा सचिवालयका अनुसार मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्तावमाथि आजको बैठकमा दलगत धारणा राख्ने तयारी छ । यद्यपि प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने पौडेलले अविश्वास प्रस्तावको सामना गर्नुको साटो बैठक रोक्ने कोसिस गर्दै आएका छन् ।

मुख्यमन्त्री पौडेलविरुद्ध प्रचण्ड(माधव समूहले गत पुस १० गते अविश्वास प्रस्ताव दर्ता गराएको थियो । माघ ९ गते अविश्वास प्रस्ताव टेबुल भएको थियो । तर प्रस्तावमाथि छलफल सुरु हुन सकेको छैन । पछिल्लो पटक यही माघ १९ गते बोलाइएको बैठक अघिल्लो राति आकस्मिक सूचना जारी गर्दै फागुन ५ गतेसम्मका लागि बैठक स्थगित गरिएको थियो ।

त्यसको विरोध गर्दै प्रचण्ड(माधव समूहले प्रदेशसभा सभामुख श्रेष्ठ अल्पमतको सरकारको लाचार छाया बनेको टिप्पणी गर्दै तत्काल बैठक बोलाउन माग गरेको थियो । सो समूहले प्रदेशसभा सचिवालय अगाडि भेला भएर नाराबाजी गर्दै प्रदर्शनसमेत गरेको थियो । अविश्वास प्रस्ताव विफल पार्न वा पारित गर्न प्रमुख प्रतिपक्षी कांग्रेसको साथ आवश्यक छ । तर कांग्रेस दुवै पक्षतिर खुलेको छैन ।

बागमती प्रदेशसभामा नेकपाका ८० प्रदेशसभा सदस्य छन् । यसैगरी कांग्रेसका २२, विवेकशील साझाका ३, राप्रपाका २, नेमकिपाका २ र स्वतन्त्र १ सदस्य छन् । प्रदेशसभाका कूल ११० सदस्यमध्ये मुख्यमन्त्री पौडेललाई सरकार जोगाउन कम्तिमा ५६ सांसदको साथ चाहिन्छ । तर उनीसँग हाल ३५ सदस्यमात्र छन् । यसैगरी प्रचण्ड(माधव समूहसँग ४५ सांसद छन् । विश्वास प्रस्ताव पास गराउन सो समूहलाई थप ११ सांसदको साथ आवश्यक छ ।

 

प्रतिक्रिया दिनुहोस्