काँग्रेसको विरोध सभामा ओली समूहको ढुंगामुढा
४,फागुण–काठमाण्डौं । बैतडीको डिलासैनीमा आयोजित नेपाली कांग्रेसको सभामा ओली समूहले ढुंगामुढा गरेका छन् । त्यसक्रममा केही कार्यकर्ता घाइते भएका छन् । डिलासैनीमा मंगलबार भएको कार्यक्रमा कांग्रेसका केन्द्रीय सदस्यद्वय एन।पी। साउद र डिला संग्रौला, नेविसंघका पूर्व सभापति नैनसिंह महर लगायत सहभागी भएका थिए ।
नेता महरका अनुसार सोमबार मात्र जयराज जोशीको नेतृत्वमा २०० सयभन्दा बढी नेकपा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए । स्थानीय पालिकाको केन्द्र सार्न माग गर्दै आन्दोलनरत संघर्ष समितिका संयोजक समेत रहेका जोशीले सम्बोधनका क्रममा नेकपा ओली समूहका नेता सुरेन्द्र पालको आलोचना गरेका थिए ।
त्यही क्रममा ओली समूहका कार्यकर्ताले ढुंगामुढा गरेपछि झण्डै डेढ घण्टा कार्यक्रम नै रोकिएको थियो ।ओली समूहका कार्यकर्ताले हानेको ढुंगा केन्द्रीय सदस्य साउदलाई समेत लागेको थियो । यद्यपि चोट छैन ।
तीन जना भने घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए । केही सवारी साधनमा तोडफोड समेत भएको छ । नेपाली कांग्रेसले घटनाको भत्र्सना गरेको छ ।