Logo

काठमाण्डौं जिल्ला अदालतभित्र न्यायाधिशकै अगाडी कर्मचारीबीच मुक्का हानाहान


३,फागुण–काठमाण्डौं । काठमाण्डौं जिल्ला अदालतका दुई कर्मचारीबीच मुक्का हानाहान भएको छ । सोमबार इजलास अधिकृत र फाँटका कर्मचारीबीच झगडा भएपछि मुक्का हानाहान भएको हो । न्यायाधीशकै सामुन्ने भएका मुक्का हानाहानमा इजलास अधिकृत गोकर्ण शर्मा घाइते हुनुभएको छ । नायब सुब्बा नेत्रप्रसाद बास्तोला र शर्माबीच हात हालाहाल भएको हो ।

अदालत स्रोतका अनुसार यसअघि भइसकेको आदेशको व्यहोरालाई लिएर शर्मा र बास्तोलाबीच हात हालाहाल भएको हो ।अदालतका श्रेष्तदार भीमबहादुर निरौलाले यो घटनाको बिषयमा अनुसन्धान भइरहेको बताउनुभयो । निरौलाले भन्नुभयो, ‘‘घटना भएको छ । दुबैको दाबी पहिले अर्कैले आक्रमण गरेका भनेका छन् ।

सुब्बा सापको हकमा इजलासले घटना विवरण माग गरेको छ । उहाँले पनि छानबिन गरिपाउँ भनेर निवेदन दिनुभएको छ । हामी अनुसन्धानका क्रममा छौँ । अनुसन्धान अनुसार दोषीलाई कारबाही हुन्छ । १४ नम्बर इ’जलासमा न्यायाधीश प्रकाशचन्द्र अधिकारीको सामुन्ने उक्त घटना भएको हो ।

सोमबार इजलास प्रारम्भ भएर न्यायाधीश अधिकारी मिसिल अध्ययनकै सिलसिलामा रहेको अवस्थामा दुईबीच झगडा भएको हो । झगडाले केही समय अन्य इजलास पनि प्रभावित भएका छन् । निरौलाका अनुसार दुईबीच यसअघि भएको आदेश कुन ब्यहोरामा सही गराउने भन्ने विवाद प्रारम्भिक रुपमा देखिएको छ ।

मालपोतलाई भएको उक्त आदेशमा इजलास अधिकृत शर्माले सुरुमा कार्यालयलाई पत्र काट्नुपर्ने अडान राख्नुभएको थियो । नायब सुब्बा बास्तोलाले सिधै कार्यालय प्रमुखलाई बोलाउने गरी पत्र काट्नुपर्ने अडान राख्नुभएको थियो । सोही विषयलाई लिएर दुईबीच हात हालाहालको अवस्था सिर्जना भएको हो ।

प्रतिक्रिया दिनुहोस्