मात्र ६५ रुपैयाँमा खाना खुवाउने रेष्टुरेन्ट सञ्चालनमा

२०,माघ–काठमाण्डौं । काठमाण्डौं उपत्यकाको व्यस्त ठाँउ मानिने अनामनगरमा मात्र ६५ रुपैयाँमा खाना खुवाउने रेष्टुरेन्ट सञ्चालनमा आएको छ । लकडाउनको समयमा भोकमारीमा परेका पीडितहरुलाई निःशुल्क खाना खुवाउदै आएका हाम्रो टीम नेपालले सस्तोमा खाना खुवाउने रेस्टुरेन्ट सञ्चालनमा ल्याएको हो ।
हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले ६५ रुपैयाँमा एक छाक सादा खाना खुवाउने गरी रेस्टुरेन्ट खोलिएको बताए । रेस्टुरेन्टबाट भएको बचतले अशक्त, असाहयलाई निःशुल्क खाना खुवाउन प्रयोग गरिने पनि अध्यक्ष पन्तले जानकारी दिए ।
रेस्टुरेन्टबाट नेपाली खानाको प्रवर्द्धन हुने पनि अध्यक्ष पन्तले बताए । हाम्रो टीम नेपालले गत वर्ष ११ चैतदेखि लकडाउन भएपछि काठमाडौं उपत्यकामा रोजगारी गुमाएर खाना नपाएका मानिसलाई निःशुल्क खाना खुवाउँदै आएका थिए ।
शनिबार सो क्याँफे उदघाटन गर्न चलचित्र जगतका चर्चित नायक पलशाह लगायत सेलीब्रेटीहरु समेत उपस्थित भएको हाम्रो कलाखबर संवाददाता रमिला तमाङले जानकारी दिए ।