Logo

सोलुखुम्बुको महाकुलुङ ममेर्कुमा ३ लाख ५० हजार लागतमा स्वास्थ्य क्लिनिक निर्माण


२०,माघ–काठमाण्डौं । सोलुखुम्बुको महाकुलुङ ममेर्कुमा ३ लाख ५० हजार लागतमा स्वास्थ्य क्लिनिक निर्माण गरिएको छ । छेस्काम पारी रहेको दुर्गम गाउँमा निर्मित स्वास्थ्य क्लिनिकलाई सोमबार गाँउपालिका अध्यक्ष सागर किराँतीले उदघाटन गरेका थिए । उद्घाटनपछि अध्यक्ष किराँतीले मामेर्कुका सर्वसाधारणलाई आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्नका लागि क्लिनिक स्थापना गरिएको बताए । किराँतीले अब त्यो क्लिनिक प्रभावकारी रुपमा सञ्चानलन हुने समेत जनाकारी गराए ।

करिब ६० घर परिवारमा आधारभूत स्वास्थ्यको पहूँच स्थापित गर्ने द्येयले स्थापना गरिएको क्लिनिकबाट आधारभूत उपचार, परिवार नियोजन, गर्भवति सेवा प्रवाह गरिने स्वास्थ्य शाखा प्रमुख हरि आचार्यले जानकारी दिए । हरेक हिसाबले हेर्ने हो भने ६० घरपरिवार रहेको यो गाँउ अत्ति दुर्गम मानिन्छ । अझै सम्म पनि त्यो गाउँमा बिजुली बत्ति र खानेपानीको व्यावस्था भएको छैन । यद्यपी विकासको मुख्य मेरुदन्द्व मानिने सडक समेत त्यो बस्तिमा पुगेको छैन ।

त्यहाँका मानिसहरु बिरामी पर्दा आकस्मिक प्राथामिक उपचारका लागि छेस्काम स्वास्थ्यचौकी आउनु पथ्र्यौ । अहिले महाकुलुङ गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा स्वास्थ्य क्लिनिक स्थापना भएपछि अब त्यो समस्या टरेको छ । चालु आर्थिक बर्षमा वडा कार्यालयबाट विनियोजित बजेट ३ लाख ५० हजारको लागतमा गाउँघर क्लिनिकको स्थापना गरिएको वडाअध्यक्ष डेक बहादुर राईले बताए ।

उदघाटन समारोहमा पुग्नु भएका राईले कार्यक्रममा बोल्दै घण्टौको जंगल बाटो हिडेर छेस्काम स्वास्थ्य चौकीसम्म त्यहाँका स्थानीहरुले धाउनु परेको बताए । त्यही समस्यालाई मध्यनजर गर्दै स्वास्थ्य क्लिनिक निर्माण गरि सकेकोले अब त्यो समस्याको समधान भएको पनि वडा अध्यक्ष राईले बताए । अहिले आफ्नै स्थानमा क्लिनिक निर्माण भएपछि त्यहाँका स्थानीय तथा आम सर्बसाधरणहरु निकै उत्साहित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्