Logo

म्यान्मारमा सेनाले ‘कू’ गरेर सत्ता कब्जा, नेतृ आङ साङ सूकीसहित शीर्ष नेताहरुलाई नियन्त्रणमा लिएर संकटकालको घोषणा


१९,माघ–काठमाण्डौं । म्यानमारमा सेनाले ‘कू’ गरेर सत्ता क ब्जा गरको छ । स्थानीय समय सोमबार बिहानै सेनाले सत्ताधारी पार्टी नेशनल लिग फर डेमोक्रेसीकी नेतृ आङ साङ सूकीसहित शीर्ष नेताहरुलाई नियन्त्रणमा लिएर सेनाले संकटकाल घोषणा गरेका छन् । अब एक बर्षका लागि संकटकाल घोषणा भएको सेनाले जनाएको छ । गएको नोभेम्बर ८ मा भएको चुनावमा सूकीको पार्टीले सरकार बनाउनका लागि आवश्यक सिटमा जित हाँसिल गरेको थियो ।

तर सो चुनावमा धाँधली भएको आरोप लगाउँदै आएको सेनाले त्यसकै प्रतिक्रिया स्वरुप सत्ता आफ्नो हातमा लिएको बताएको छ । सेनाका प्रमुख मिन आङ हलाइङ्गलाई सत्ताको जिम्मेवारी दिइएको म्यानमार आर्मीले बताएको समाचार संस्था रोयटर्सले जनाएको छ । सेनाको नियन्त्रणमा रहेको टेलिभिजन मार्फत जारी वक्तव्यमा सत्ता आफूहरुको नियन्त्रणमा आएको जनाएको हो । सन् २०११ सम्म म्यानमारमा सैनिक शासन थियो ।

बर्माका रुपमा समेत चिनिने म्यानमारकी नेतृ सुकीलाई सेनाले वर्षौँसम्म घरमै नजरबन्दमा राखेको थियो । गएको नोभेम्बरमा भएको चुनावमा विजयी भएका सांसदसहित तल्लो सदनको पहिलो बैठक सोमबारका लागि बोलाइएका बेला सूकीसहितका नेतालाई पक्राउ गरि सेनाले सत्ता हत्याएको हो । सूकी पक्राउ परेसँगै राजधानीसहित म्यानमारको प्रमुख शहरमा इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

यस्तै अरु प्रजातन्त्रवादी नेताहरु पनि पक्राउ परेको उल्लेख छ । राजधानीसहितका प्रमुख शहरहरुमा सैनिक ठूलो संख्यामा तैनाथ भएको बिबिसीले उल्लेख गरेको छ । स्थानीय समय अनुसार सोमबार बिहानै सूकीसहित राष्ट्रपति विन मिन्ट र अरु नेताहरुलाई सेनाले पक्राउ गरेको एनएलडीका प्रवक्ता मिओ निउन्तले समाचार संस्था रोयटर्सलाई टेलिफोनमार्फत बताएका छन् । उनले समर्थकहरुलाई आक्रोश र हतारमा प्रतिक्रिया नजनाउन अपिल गरेका छन् ।

कानून अनुसार विरोध जनाउन उनले आग्रह गरेको रोयटर्सले जनाएको छ । प्रवक्ता मिओ पनि पक्राउ परेका छन् । राजधानीसहितका शहरमा टेलिफोन सेवा पनि अवरुद्ध भएको छ । सेनाले विभिन्न राज्यका मुख्यमन्त्रीहरुलाई पनि उनीहरुकै घरबाट पक्राउ गरेको छ । आइतबार सेनाले संविधान अनुसार गर्ने बताएको थियो । त्यसलाई सैन्य कू को तयारीका रुपमा लिइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्