दुई बर्षका लागि ३१ जिल्लामा निःशुल्करुपमा इन्टरनेटसेवा उपलब्ध गरिने
१९,माघ–काठमाण्डौं । नेपाल दूरसञ्चार प्राधिकरणले दुई बर्षका लागि ३१ जिल्लामा निःशुल्करुपमा इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । ग्रामीण दूरसञ्चार कोषको रकम प्रयोग गरेर उक्त जिल्लाहरुमा सेवा प्रवाह गर्र्न लागिएको नेपाल दूरसञ्चार प्राधिकरणले सोमबार सूचना मार्फत जानकारी गराएको छ ।
उक्त जिल्लामा ब्रोडब्यान्ड नेटवर्क निर्माणको काम सम्पन्न भएको पनि प्राधिकरणले जनाएको छ । ३१ जिल्लाका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, सामूदायिक विद्यालय, सामुदायिक स्वास्थ्य संस्थारकेन्द्र र अस्पतालहरुमा निःशुल्क इन्टरनेट पुर्याइएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए ।
उनका अनुसार उक्त परियोजनाअन्तर्गतका ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बु, अछाम, बझाङ र बाजुरा गरी ६ जिल्लामा मर्कन्टाइल कम्युनिकेशन प्रालिले इन्टरनेट जडान सम्पन्न गरेको हो । बैतडी, डडेलधुरा, दार्चुला र डोटी गरी चार जिल्लामा भायानेट कम्युनिकेशनले जडान सम्पन्न गरेको छ ।
जाजरकोट, कालीकोट, रोल्पा, रुकुम पूर्व र रुकुम पश्चिम, डोल्पा, रुकुम, हुम्ला र मुगु गरी नौ जिल्लामा वल्र्डलिङ्क कम्युनिकेशनले ब्रोडब्यान्ड नेटवर्क निर्माणको काम सम्पन्न गरेको हो ।
त्यस्तै दैलेख, सुर्खेत, सल्यान, मनाङ, मुस्ताङ, बाग्लुङ र म्याग्दी, पाँचथर, भोजपुर, धनकुटा, तेह्रथुम र खोटाङ गरी १२ जिल्लामा टेकमाइन्डस् नेटवर्कले इन्टरनेट विस्तारको काम सम्पन्न गरेको हो । प्राधिकरणले उक्त जिल्लामा दुई वर्षका लागि निःशुल्करुपमा इन्टरनेट उपलब्ध गराउनेछ ।