पशुपतिनाथ मन्दिरमा एक अर्ब बराबरको सुनको झलप लगाइने,१४२ किलोग्राम सुन लाग्ने अनुमान
१८,माघ–काठमाण्डौं । पशुपति क्षेत्र विकास कोषले मूल मन्दिरको शिवलिङ्ग जलहरि सुनको बनाउने भएको छ । पशुपतिनाथ मूल मन्दिर अघिको बसाहा र छानामा पनि सुनको जलप लगाइने कोषका सदस्य सचिव डा। प्रदीप ढकालले जानकारी दिए । यसका लागि १४२ किलोग्राम सुन लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । जलहरिका लागिमात्र १०८ केजी सुन लाग्ने अनुमान गरिएको पनि उनले बताए ।
“कोषको वार्षिकोत्सवसमेत रहेको पुण्य तिथि अक्षय तृतीयासम्म सुनको जलहरि र जलप लगाइसक्ने गरी प्रक्रिया शुरु भएको छ । यसका लागि करीब रु एक अर्ब बजेट लाग्ने अनुमान गरिएको छ । अहिले कोषसँग रु ६५ करोड रहेको र बाँकी ३० करोड सरकारले दिने पनि सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए । अब सुनको जलहरि र जलप लगाए पछि बसाहा एवं छाना ३०० वर्षसम्म परिवर्तन गर्नु नपर्ने कोषले जनाएको छ ।
कम्तीमा सात पुस्तासम्म पुग्ने गरी दिगो काम गर्न लागिएको पशुपतिकोषको भनाई रहेको छ । कानूनी एवं धार्मिक विधि पु¥याएर यो काम गर्ने कोषको तयारी छ । सुनको जलहरि र जलपका लागि टेन्डर प्रक्रिया शुरु भइसकेको छ । सुनको काम गर्ने कालीगढ कोषमै राखेर काम गरिनेछ । यससम्बन्धी विस्तृत विवरण महाशिवरात्रिअघि नै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने कोषले जनाएको छ ।
१०८ ब्राह्मणबाट धार्मिक विधि पूरा गरेर काम अघि बढाइनेछ । अहिलेसम्म पशुपतिनाथ मन्दिरमा चाँदीको जलहरि छ । चाँदीको जलहरि जीर्ण भएकाले शिवलिङ्गको फेदसम्म भगवान् अर्पण गरिएको पञ्चामृत, दूध, जललगायत पुग्दा बिग्रने भएकाले पनि पवित्र धातु सुन प्रयोग गर्ने निर्णय गरिएको कोषले जनाएको छ ।