Logo

नागरिक अधिकार कर्मीहरुले शनिबार पोखरामा बृहत आन्दोलन गर्ने


१५,माघ–काठमाण्डौं । प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनको कदम विरुद्धमा नागरिक अधिकार कर्मीहरुले शनिबार पोखरामा बृहत आन्दोलन गर्ने भएको छ । आज प्रेस बिज्ञप्ती जारी गर्दै साहित्यकार गनेस पौडेल, तीर्थ गुरुङ, उपेन्द्र पौडेल, राजेन्द्र पौडेल सुनिल सिग्देललगायत १० जनाले अब चरमबद्ध रुपमा आन्दोलन चर्काउने घोषणा गरेका हुन् ।

बिज्ञप्तीमा उनीहरुले ओलीको कदम असंवैधानिक भएको जनाएका छन् । ओलीको कदमले देशलाई अधिनायकवादतिर धकेल्दै लगेको भन्दै त्यसको विरुद्धमा आन्दोलनमा उत्रिन थालेको विज्ञप्तिमा उल्लेख गरिएको छ । चिप्लेढुंगाबाट दिउँसो ३ बजेदेखि शुरु हुने आन्दोलन महेन्द्रपुल भीमसेन दाहालको शालिक अगाडि पुगेर अन्त्य गर्ने बताइएको छ ।

अब पनि नबोले भविष्यमा वाक स्वतन्त्रता नै धरापमा पर्ने स्थिति सिर्जना भएकाले प्रतिगमनविरुद्ध आवाज उठाउन जरुरी रहेको आन्दोलनको ठहर छ । उनीहरुले अबको आन्दोलन नितान्त नागरिकस्तरबाट शान्तिपूर्ण र गैरराजनीतिक हुनुपर्ने बताएका छन् ।

विद्यार्थी शिक्षक, लेखक, समाजसेवी एवं देश र संविधानको चिन्ता गर्ने हरेक नागरिकहरु प्रतिगमनविरुद्धको आन्दोलनको हिस्सा हुने पनि विज्ञप्तिमा उल्लेख छ । केही दिन अगाडी वालुवाटारमा शान्तिपूर्ण आन्दोलनको क्रममा मानव अधिकारकर्मी माथी प्रहरीले ज्यादती गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्