Logo

धितोपत्र व्यापार सम्बन्धी कारोबार गर्न नागरिक स्टक डिलरलाई अनुमति प्रदान


१२,माघ–काठमाण्डौं । अब शेयर बजार सम्बन्धी कारोबार गर्न नागरिक स्टक डिलर कम्पनीलाई धित्तोपत्र बोर्डले अनुमति दिएको छ । धितोपत्र व्यापार सम्बन्धी कारोबार गर्न नागरिक स्टक डिलरलाई अनुमति प्रदान गरिएको बोर्डका कार्यकारी निर्देशक निरज गिरीले जानकारी दिए ।

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ बमोजिमको आवश्यक प्रक्रिया पूरा गरेपछि बोर्डले धितोपत्र व्यापारीको कार्य सन्चालन गर्न अनुमति दिएको जनाएको छ ।

अनुमति पाएको कम्पनी नागरिक लगानी कोषकै सहायक कम्पनी हो । नेपाली सेयर बजारमा यो नयाँ भएका कारण पनि स्टक डिलरको विषयमा धेरैलाई जानकारी नहुन सक्छ ।
  के काम गर्छ स्टक डिलरले ?

स्टक डिलरलाई नेपालीमा धितोपत्र व्यापारी पनि भनिन्छ । अर्को भाषमा यसलाई बजार निर्माता समेत भन्ने गरिएको छ । अन्य देशहरुमा पुरानै भए पनि नेपालमा यो नयाँ हो । स्टक डिलरको कारोबार गर्न पाउने नेपालको पहिलो कम्पनी नै नागरिक स्टक डिलर हो । अब यसले बजारबाट आफ्नो नाममा सेयर खरिद गर्न सक्छ । खरिद गरेको सेयर कम्पनीले बिक्री गर्न सक्छ ।

स्टक डिलरको मुख्य काम भनेको नै आफ्नो नामबाट सेयर खरिद वा बिक्री गर्ने हो । स्टक ब्रोकर कम्पनीहरुले जस्तो अर्काको नाममा सेयर खरिद गर्ने काम भने यसले गर्दैन । जति खरिद गर्छ आफ्नै नाममा खरिद गर्ने हो र आफूसँग मौज्दात रहेसम्म सेयर बिक्री गर्ने हो ।

अन्य कम्पनीहरुको सेयर खरिद बिक्री गरे पनि आफैंले जारी गरेको सेयरको भने खरिद(बिक्री भने गर्न पाउँदैन । धितोपत्र व्यवसायी नियमावली, २०७४ मा स्टक डिलरलाई चाहिने पूर्वाधार तथा अन्य आवश्यक विषयहरु समेत उल्लेख गरिएको छ ।

अहिले कुनै व्यक्तिले आदेश दिँदा ब्रोकर कम्पनीहरुले सेयर खरिद वा बिक्री गर्ने गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्