श्री स्वास्थानी ब्रत कथा बिहिबारदेखि सुरु,यो बर्ष नयाँ नियम लागु हुने
११,माघ– काठमाण्डौं । श्री स्वास्थानी ब्रत कथा पौष शुक्ल पूर्णिमाका दिन (यही माघ १५गते) देखि आरम्भ हुने भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ। स्वस्थानी व्रत बसे तथा कथा भने र सुने मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ।
माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले नयाँ नियमसहित मेला व्यवस्थापनको तयारी पूरा भएको जानकारी दिएको छ। कोभिड– १९ को महामारीका कारण यही माघ १५ गतेदेखि एक महिनासम्म चल्ने शालीनदी मेलाका लागि समितिले ५० व्रतालु राख्ने गरी पूजा सञ्चालन गर्ने कार्यविधि बनाएको समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले बताए।
उनले भने, “मेलामा जम्मा ५० जना व्रतालुलाई समावेश गरिनेछ, व्रत बस्न इच्छुक हुनेले भोलि ९सोमबार० सम्म आवेदन दिनुपर्नेछ, व्रत बस्नका लागि २० देखि ५० वर्ष उमेर समूहका लागि मात्र समावेश गरिने नियम बनाएका छौँ।” समितिले उनीहरुको पिसिआर, एक्स–रे रिपोर्ट आएपछि मात्रै व्रतका लागि योग्य मान्ने श्रेष्ठले बताए। गत वर्ष व्रतालुकोे सङ्ख्या ३०० भन्दा धेरै थियो।
यस वर्ष कोभिड–१९ को महामारीका कारण समितिले ५० जनाको सङ्ख्या तोकेको हो। व्रतालुको सुरक्षालाई ध्यानमा राखेर माधवनारायण भगवानको दर्शन गर्न दूर दर्शनको व्यवस्था मिलाइएको छ भने व्रतालु र भक्तजनबीच दूरी कायम गराउनका लागि व्रत परिसरमा बार लगाएर ठाउँ खाली गरिएको छ। साथै मेलामा आउने भक्तजनका लागि मास्कअनिवार्य गर्दै दूरी कायम हुने गरी सम्पूर्ण सुरक्षा र स्वास्थ्यलगायतका विषयमा तयारी पूरा भएको आयोजक समितिले जनाएको छ।