भारतद्वारा १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान
७ माघ, काठमाडौं । भारतद्वारा १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप नेपाललाई अनुदान दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बुधबार पत्रकार सम्मेलन गर्दै सो कुरा बताएका हुन् । सो खोप बिहिबार नै नेपालमा आई पुग्ने पनि उनले जानकारी दिए ।
पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई दिइने मन्त्री त्रिपाठीले बताए । मन्त्री त्रिपाठीले खोप ल्याउने सबै तयारी पूरा भएको पनि बताए । उनले खोप अनुदानमा दिएकामा भारत सरकारलाई धन्यवाद दिए । यो नेपाल र भारतबीचको मित्रताको अनुपम उदाहरण हो ।
नेपाल र अरु छिमेकी देशका जनताका लागि राजनीतिक निर्णय गरेको छ । धेरै धेरै धन्यवाद दिन चाहन्छौं । आगामी दिनमा खोपको खरिदमा भारत सरकारको सहयोग अत्यन्त महत्वपूर्ण हुनेछ’ उनले भने ।
उनले नेपालले खोप खरिदको पनि तयारी गरिरहेको र त्यसका लागि आर्थिक र प्रशासनिक कुनै जटिलता नरहेको दावी गरे ।