तोकिएको समयमा रासायनिक मल नल्याउने कृषि कम्पनीलाई कारबाही नगर्न कृषि मन्त्रालयको निर्णय

५,माघ–काठमाण्डौं । तोकिएको समयभित्र रासायनिक मल उपलब्ध नगराने कृषि कम्पनीलाई कारबाही नर्गन कृषि मन्त्रालयले निर्णय गरेको छ । ठेक्का हत्याएर तोकिएकै समयमा रासायनिक मल नल्याउने मुक्तिनाथ कृषि कम्पनीलाई कारबाही नगर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नीतिगत निर्णय गरेको खुलेको छ । मलको अभावमा कृषकहरुले समयमा खेती गर्न नसकेको हो ।
मल नल्याउने ठेकदारविरुद्ध आक्रामकरुपमा प्रस्तुत भएका तत्कालीन कृषिमन्त्री घनश्याम भुसाल मन्त्रालयबाट बाहिरिएपछि ठेकदार जोगाउन मन्त्रालय लागेको पाइएको हो । पुस १४ गते मन्त्रालयका सचिव डा। योगेन्द्र कार्कीको संयोजकत्वमा बसेको बैठकले मुक्तिनाथ कृषि कम्पनी लिमिटेडलाई तत्काल कारबाही नगर्न र समय अवधि नतोकी म्याद थप्ने निर्णय माइन्युट गरिएको स्रोतले बतायो ।
मुक्तिनाथलाई कारबाही रोकेपछि त्यसैको जगमा टेकेर शैलुङ र होनीको कम्पनीलाई पनि सफाइ दिने नियतसाथ मन्त्रालय लागेको स्रोत बताउँछ । मंसिर १८ गते मल ल्याउने म्याद सकिएको मुक्तिनाथ कृषि कम्पनीलाई पुष १४ सम्म मन्त्रालयकै दबाबले कारबाही रोकिएको र अझै कारबाही नगर्न मन्त्रालयले उक्त निर्णय गरेको थियो ।
तर कारबाही नगर्न मन्त्रालयको दबाब चिर्दै २७ पुसमा कृषि सामाग्री कम्पनी लिमिटेडले मुक्तिनाथ र शैलुङ इन्रप्राइजेजसँगको मल खरिद सम्झौता रद्ध गर्दै धरौटी जफत गर्ने निर्णय गरेको थियो । शैलुङले तेस्रो ठेक्काबापत पुसमा २५ हजार मेट्रिक टन युरिया मल आयात गर्नु पर्दथ्यो । उक्त परिमाणको मल खरिद गर्न कम्पनीले ९४ करोड ६ लाख ९३ हजार भन्दा बढी रकमको ठेक्का हत्याएको थियो ।
त्यस्तै, मुक्तिनाथ कृषि कम्पनीले मंसिरमा २५ हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल ल्याउनु पर्ने थियो । दुबै ठेक्काको कुल रकम एक अर्ब ८५ करोड भन्दा बढी थियो ।