Logo

कोरोनाका कारण समस्यामा परेको बेला पनि बैंक तथा वित्तीय संस्थाहरुले दुःख दिएको भन्दै व्यवसायीहरु आन्दोलित


१,माघ–काठमाण्डौं । कोरोनाका कारण समस्यामा परेको बेला पनि बैंक तथा वित्तीय संस्थाहरुले दुःख दिएको भन्दै व्यवसायीहरु आन्दोलित भएका छन् । विभिन्न क्षेत्रका व्यवसायीहरुले संघर्ष समिति नै गठन गरेर बैंकका विरुद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् । कोरोनाका कालमा पनि बैंकहरुले किस्ता बुझाउन नसक्दा धितो लिलामी गरेको भन्दै व्यवसायीहरु आक्रोशित बनेका छन् । सबै भन्दा धेरै एनआइशी एशिया बैंकले धितो लिलामी गरेर आतंकित बनाएको व्यवसायीहरुले बताएका छन् ।

पर्यटन व्यवसायी अच्युत गुरागाईंको संयोजकतव्मा बैंक पीडित संघर्ष समिति नै गठन गरिएको छ । बैंकले अलिकति पनि व्यवहारिक पक्ष नहेरी तनाब दिएकाले संघर्ष समिति नै गठन गर्नु परेको संयोजक गुरागाई बताउँछन् । कतिपय उद्योग वाणिज्य क्षेत्रका जिल्लागत संघहरुले पत्राचार नै गरेर बैंकहरुलाई आतंक नमच्चाउन आग्रह गरेका छन् । केही समयअघि सुर्खेत उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघलाई एनआईसी एशिया बैंकको नाम नै तोकेर अप्ठेरोमा पार्न खोजेको भन्दै सहजीकरणका लागि अनुरोध गरेको थियो ।
                                                           

                                                             हामी सडकमै आउन बाध्य हुनेछौंः संघर्ष समिति

महामारीपछि व्यवसायको अवस्था निकै नाजुक हुँदा समेत सरकारी तथा बैंकिङ क्षेत्रबाट कुनै सहजता नभएको भन्दै ३४ वटा संघ(संगठनहरु आन्दोलनमा होमिएका छन् । एक्काएक्लै आवाज उठाउदा कम सुन्ने भएकाले संयुक्त संघर्ष समितिको आवश्यकता परेको संयोजक तथा एनप्याव्सनका पूर्व अध्यक्ष कर्णबहादुर शाही बताउँछन् । मौद्रिक नीतिकै विषयमा धेरै आवाजहरु उठाउनु पर्ने आवश्यकता देखिएको उनले बताए ।

अहिले सरकारी कार्यालयहरुले दिनु पर्ने सुविधाहरु समेत नदिएको उनको भनाई छ । कोरोनाका कारण महशुल तिर्न ढिलाई हुँदा समेत अहिले जरिवाना तिर्नु परेको उनले बताए । अन्य धेरै समस्याहरु रहेको र यस विषयमा अर्थ मन्त्रालयसँग पनि कुरा भइरहेको उनले बताए । ३४ वटा संघ संगठनहरु पीडाको हिसाबले हामी एक ठाउँमा भएका हौं, यहाँ १२ वटा पर्यटन क्षेत्रका मात्रै संगठनहरु छन्’ उनले भने, ‘धेरै समस्या भने बैंकको रहेको छ, हामी हाम्रो माग पुरा गराउन सडकमै जान सक्छौं । केहीदिन पहिले नै सडकमा जाने संघर्ष समितिको तयारी समेत रहेको थियो ।

तर राजनीतिक अवस्थाका कारण सडकमा नगएको शाहीले बताए । यतिबेला सडकमा जादा कुनै एक राजनीतिक समूहको समर्थन गरे जस्तो देखिने भएकाले तत्कालका लागि सडक आन्दोलन रोकिएको उनले सुनाए । सडक आन्दोलनमा जाँदा सबै क्षेत्रका सवारी साधनहरुसहित काठमाडौंमा प्रदर्शन गरिने उनले बताए ।

पर्यटन क्षेत्रका हरियो प्लेट भएको ८ हजार गाडी छन्, सार्वजनिक यातायातको उत्तिकै धेरै छन्’ उनले भने, ‘स्कूलवालाहरुको पनि पहेलो बस ५ हजार भन्दा धेरै छन्, सबै गाडी सडकमा लिएर जाँदा के हुन्छ रु’ अहिले निकै ठूलो समस्या भनेको बैंकको हो । बैंकमा पनि एनआईसी एसियाले धेरै दुःख दिएको व्यवसायीहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्