राष्ट्रिय गौरवका आयोजना कास्कीको पोखरामा निर्माणाधीन पोखरा अन्तरराष्ट्रिय विमानस्थल तोकिएकै समयमा सम्पन्न हुने

२३,पौष–काठमाण्डौं । राष्ट्रिय गौरवका आयोजना कास्कीको पोखरामा निर्माणाधीन पोखरा अन्तरराष्ट्रिय विमानस्थल तोकिएकै समयमा सम्पन्न हुने भएको छ । अरु योजनाहरुको खाशै सन्तोषजनक प्रगति नभएको आवस्थामा कास्कीको पोखरामा निर्माणाधीन पोखरा अन्तरराष्ट्रिय विमानस्थल तोकिएकै मितिमा सम्पन्न हुने भएको हो ।
अहिले भइरहेको कामहरूको प्रगतिको आधार हेर्दा भैरहवा अन्तरराष्ट्रिय विमानस्थलभन्दा पहिले नै पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन हुने देखिएको छ । विमानस्थल आयोजनाका अनुसार विमानस्थलको ६८ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ । यस्तै करीब ५१ प्रतिशत वित्तीय प्रगति भएको छ ।
तोकिएको काम सम्पन्न भएपछि मात्रै ठेकेदारलाई पूरा भुक्तानी दिइने भएकाले वित्तीय प्रगति कम देखिएको तर त्यो भुक्तानी गर्दा स्वतः वित्तीय प्रगति पनि माथि पुग्ने विमानस्थल आयोजनाले जानकारी दिएको छ ।
आयोजनाका अनुसार हाल २ हजार ५ सय मिटरको धावनमार्ग, एटीसी टावर, सातओटा भवन, एउटा ह्याङगरलगायत निर्माण कार्य सम्पन्न भएका छन् । यी पूर्वाधारमा फिनिसिङको काम जारी छ । विमानस्थलमा लाइटिङलगायत उपकरण जडानको काम मात्र बाँकी छ ।