माईतीघर मण्डलामा कालो झण्डा सहित भारत विरुद्ध प्रर्दशन
कलाखबर संवाददाता,१९ कात्तिक–काठमाण्डौं । माईतीघर मण्डलामा कालो झण्डा सहित भारत विरुद्ध प्रर्दशन भएको छ । बिरोधको भावजुत पनि भारतीय सेना प्रमुख नरवणे भने सोल्टी होटल पुगेका छन् । मिचिएका नेपाली भूमि फिर्ताको माग राख्दै माइतीघरमा विभिन्न २१ दलको आयोजनामा प्रदर्शन भएको हो। प्रदर्शनमा सहभागीहरुले कालोझण्डासहित भारत विराधी नाराबाजी गरेका थिए।
माइतीघर मण्डलामा २१ दलीय मोर्चाको नाममा भेला भएर केही व्यक्तिले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणको विरोध गरेका छन् । नेपालको सार्वभौमिकताको अपमान गर्ने सेनापतिलाई सरकारले किन निम्त्यायो भन्ने विषय आश्चर्यजनक भएको बताउँदै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
माइतीघरमा करिब २५ जना व्यक्ति विरोध प्रदर्शन गर्दै जम्मा भएका छन् । हाल प्रदर्शनस्थलमा महानगरीय प्रहरी वृत्त सिंहदरबारसहितका प्रहरी अधिकारी पुगेका छन् । प्रदर्शनकारीलाई हालसम्म धरपकड गरिएको छैन ।
नरवणेले सीमा विवाद चर्किएका वेला चीनतर्फ इंगित गर्दै नेपालले कसैको इसारामा लिपुलेकको मुद्दा उचालेको टिप्पणी गरेका थिए । नरवणे तीन दिनका लागि नेपाल भ्रमणमा आएका हुन् ।