Logo

एभरेष्ट मेरा फाउण्डेशनद्वारा कोभिड–१९ सहयोग वितरण


कोभिड–१९ महामारीको सङ्क्रमण सुरु भएयता लकडाउनको कारण दैनिक जीवनयापनमा समस्या भोगिरहेका दीनदुखीहरुका लागि एभरेष्ट मेरा फाउण्डेशनले महाकुलुङ गाउँपालिकाका विभिन्न स्थानहरुमा स्वास्थ्य तथा खाद्य सामग्री वितरण कार्य हालसालै सम्पन्न गरेको छ । पहिलो चरण अन्तर्गत छेस्काम र दोस्रो चरण अन्तर्गत बुङमा गरी करिब ३९५ घर परिवारलाई फाउण्डेशनद्वारा राहत वितरण गरिएको हो ।

सगरमाथा क्षेत्रमा पर्यटन मजदुरीको काम गरी जीविकोपार्जन गर्ने महाकुलुङका अधिकांश किसानी दाजुभाईहरुलाई कोभिड–१९ महामारीको कारण आफ्नो परिवार र विद्यार्थी छोराछोरीहरुको खर्च धान्न गाह्रो भइरहेको अवस्थामा केही हदसम्म भए पनि सहयोग पुगोस् भन्ने हिसाबले विभिन्न चरणमा खाद्य राहत तथा स्वास्थ्य सामग्री वितरण गरिएकोे हो ।

कोभिड–१९ कै कारण कामविहीन बनेका पर्यटन मजदुरुको चुलो बलोस् भन्ने उद्धेश्यले राहत वितरण गरिएको अध्यक्ष दिलिपसिंह कुलुङले वताए । सन् २०१५ देखि विभिन्न मानवीय कार्यहरुको लागि न्यू फ्यूचर नेपाल युकेले एभरेष्ट मेरा फाउण्डेशनलाई आर्थिक सहयोग उपलब्ध गराउदै आएको हो । आफ्नो स्थापनाकालदेखि आजसम्म एभरेष्ट मेरा फाउण्डेशनले आधा दर्जन विद्यालयहरुलाई विभिन्न शैक्षिक सामग्री वितरण गरिसकेको छ । यस्तै प्राकृतिक विपत्तिमा परेकालगायत अन्य समस्यामा परेका सयौँ दीनदुखीहरुलाई मानवीय सहयोग गरिसकेको छ ।

अझ फाउण्डेशनले विदेशी व्यक्तिगत दाताहरुको सहयोगमा १५ जना गरिब तथा अनाथ वालवालिकाहरुको स्थानीय विद्यालयहरुमा लाग्ने सम्पूर्ण खर्चको व्यवस्थापनसमेत गर्दै आइरहेको छ । करिब २० वर्ष अगाडि कलिलो उमेरमा सगरमाथा क्षेत्रमा स्थानीय साहुहरु र पश्चिमा पर्यटकहरुको ९० किलो हाराहारीको भारी बोक्दाको जस्तो दुःख अरु गरीब वालवालिकाहरुले भोग्न नपरोस् भनेर उनीहरुको शैक्षिक जीवनमा केही मलमपट्टी गर्न सकिन्छ कि भन्ने उद्देश्यले एभ्रेष्ट मेरा फाउण्डेशन स्थापना गरिएको अध्यक्ष कुलुङले वताए ।

महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किरातीले एभरेष्ट मेरा फाउण्डेशनद्घारा गरिएका विभिन्न सामाजिक तथा मानवीय कार्यहरुमा सहयोग गर्नु हुने सहयोगी संस्था न्यू फ्यूचर नेपाल युकेका सम्मानित सबै बोर्ड मेम्बरहप्रति गहिरो आभार प्रकट गर्दै आगामी दिनमा पनि सहयोग निरन्तर होस भन्ने अपेक्षा रहेको कुरा औल्याउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्