Logo

सोह्रौ पटक सन्तान जन्माएकी बच्चा आमाको मृत्यू


कलाखबर संवाददाता,२७ असोज–काठमाण्डौं ।  ४५ वर्षकी एक महिलाले १६ औं सन्तानलाई जन्म दिने क्रममा आमा र बच्चाको अवस्था निकै गम्भीर भएपछि उपचारको लागि स्वास्थ्य संस्था लैजाँदै गर्दा दुवैको मृत्यु भएको छ । ती महिलाले यसअघि नै १५ सन्तानलाई जन्म दिइसकेकी थिइन् । उनले जन्माएका मध्ये ७ सन्तानको मृत्यु भइसकेको छ ।

अहिले उनले जन्माएको छोराको मृत्यु भएसँगै उनले जन्माएका कूल १६ सन्तानमध्ये ८ जनाको मृत्यु भयो र ८ सन्तान जीवित छन् । प्रेस ट्रस्ट अफ इण्डियाका अनुसार मृतक महिला मध्य प्रदेशको दमोह जिल्लाकी हुन् । जिल्लाको बटियागढ थाना क्षेत्रमा पर्ने पाडाझिर गाउँकी सुखरानी अहिरवार नामकी महिलाले १६ औं सन्तानको रुपमा छोरा जन्माएकी थिइन् ।

४५ वर्षकी सुखरानीले शनिबार घरमै छोरा जन्माएकी थिइन् । छोरा जन्मिएको केही बेरमै आमा र नवजात शिशुको स्थिति गम्भीर भएपछि उनीहरुलाई स्वास्थ्य संस्था लगिएको थियो । तर अस्पताल लैजाने क्रममै महिला र बच्चा दुवैको ज्यान गएको छ । १६ सन्तान जन्माएकी सुखरानीका ४ छोरा र ४ छोरी जीवित छन् । बाँकी ८ जनाको मृत्यु भइसकेको छ । उनले जन्माएका दुई सन्तानको विवाह पनि भइसकेको छ ।

घटनाका सम्बन्धमा मुख्य चिकित्सा एवं स्वास्थ्य अधिकारी डा। संगीता त्रिवेदीले तत्काल जाँचको आदेश दिएकी छिन् । सेक्टरका सुपरभाइजरलाई निलम्बन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्