Logo

सरकार र डाक्टर केसी पक्षबीचको वार्ता सहमति नजिक


कलाखबर संवाददाता,२३ असोज –  सरकार र अनशनरत डाक्टर गोविन्द केसी पक्षबीचको वार्ता सहमति नजिक पुगेको छ । हिजो अबेरसम्म भएको वार्ता सकारात्मक भएको र आज फेरि वार्ता हुने दुवै पक्षले बताएका छन् ।

हिजो दिनभरि नै चलेको छलफल सकारात्मक भएकाले आज निष्कर्षमा पुग्ने गरी वार्ता अघि बढाउने दुवै पक्षको भनाइ छ । आज हुने वार्ताको समय भने टुङ्गो लागिसकेको छैन । अस्ति सरकार र डाक्टर केसी पक्षले वार्ता टोली गठन गरेपछि हिजोदेखि वार्ता सुरु भएको हो । डाक्टर केसी ६ बुँदे माग राखेर १९ औं अनशनमा बस्नुभएको हो ।

उहाँको स्वास्थ्यमा निकै समस्या आउन थालेकाले तत्काल आईसीयूमा सार्नुपर्ने उपचारमा संलग्न डाक्टरले बताएका छन् । तर डाक्टर केसीले आईसीयूमा जान अस्वीकार गर्नुभएको छ ।

उहाँले सरकारसँग ०७५ साउन १० गते गरिएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आईओएममा वरिष्ठता मिचेर गरिएका नियुक्ति सच्याउनुपर्ने र बयलपाटा अस्पताललाई नियमित र आवश्यक बजेट व्यवस्था गरी निःशुल्क स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्ने लगायत ६ बुँदे माग राख्नुभएको छ ।

उहाँको माग शिक्षा, स्वास्थ्य मन्त्रालय, आयोग र त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित छन् । गएको भदौ २९ गते डाक्टर केसीले जुम्लाको धर्मशालामा अनशन सुरु गर्नुभएको थियो । पछि काठमाण्डौ ल्याइएका उहाँ अहिले शिक्षण अस्पताल महाराजगन्जमा अनशनमा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्