राजदूत सिफारिसप्रति नेकपाको असन्तुष्टि,ओलीले एकलौटी निर्णय गरेको आरोप

कलाखबर संवाददाता,१५,असोज–इनरुवा । बिहीबार सरकारले गरेको तीन राजदूत सिफारिसप्रति सत्तारुढ नेकपाभित्र असन्तुष्टि देखिएको छ। सरकारका महत्वपूर्ण निर्णयहरु पार्टीसँग छलफल गरेर गर्ने सचिवालय र स्थायी समितिको निर्णय विपरीत अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले तीन देशका लागि बिहीबार राजदूत सिफारिस गरेका छन्।
उक्त सिफारिस अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सचिवालयका अरु सदस्यहरुसँग छलफल नै नगरी गरिएको भन्दै नेताहरुले असन्तुष्टि जनाएका छन्। मन्त्रिपरिषद् पुनः गठनका विषयमा दुई अध्यक्षबीच कुरा नमिलिरहेका बेला ओलीले फेरि एकलौटी गर्न थालेको आशंका दाहाल र वरिष्ठ नेता नेपाल पक्षीय नेताहरुले गरेका छन्।
बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले मुख्य सचिवबाट लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै बेलायतको राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ। त्यस्तै पूर्व अर्थमन्त्री एवं प्रधानमन्त्रीका सल्लाहकार युवराज खतिवडालाई अमेरिकाको राजदूतमा सिफारिस गरिएको छ।
सरकाले निर्मल विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूत सिफारिस गर्दै परराष्ट्र सचिव शंकरदास वैरागीलाई मुख्य सचिव बनाउने निर्णय गरेको महिला बालबालिका तथा समाज कल्याणमन्त्री पार्वत गुरुङले जानकारी दिए। यी निर्णयप्रति दाहालसँग ओलीले कुनै सल्लाह नगरेको उनी निकट एक नेताले बताए।
‘सरकारका नियुक्तबारे अध्यक्ष ज्यूसँग छलफल भएको रहेनछ, यसबारेमा के भएको हामी पनि बुझ्दै छौँ’, दाहाल निकट स्थायी समिति सदस्यले भने। भदौ २६ गते स्थायी समितिले पारित गरेको अध्यक्षद्वयको प्रस्तावमा सरकारका महत्वपूर्ण नियुक्त पार्टीमा सल्लाह गरेर मात्र गर्ने भन्ने उल्लेख थियो। तर, स्थायी समितिको निर्णय ओलीले एक महिना पनि नपुग्दै उल्लंघन गरेका छन्।