Logo

लोडसेडिङ भएको जनताले महशुस गर्न थालेपछि विद्युत प्रणालीको समस्या तत्काल सम्बोधन गर्न ऊर्जामन्त्रीको निर्देशन


कलाखबर संवाददाता,८ असोज काठमाण्डौं । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले पछिल्लो केही दिनयता खराब मौसमका कारण विद्युत वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल समाधान गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन्। मन्त्री पुनले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालासहित आधा दर्जन बढी उपकार्यकारी निर्देशकहरुलाई बिहीबार मन्त्रालयमा बोलाएर समस्या तत्काल सम्बोधन गर्न निर्देशन दिएका हुन्।

कार्यकारी निर्देशकका रुपमा चार वर्षे कार्यकाल पूरा गरेर कुलमान घिसिङ बिदाइ भएपछि बिजुली कतौती हुने समस्या देखिएको छ। मन्त्री पुनले निमित्त कार्यकारी निर्देशक कोइरालालाई पूर्ण अधिकार प्रयोग गरी काम गर्न र ठूलै समस्या आए तत्काल आफूलाई जानकारी दिन पनि भने। जनता हाम्रा ग्राहक हुन्, ग्राहकका गुनासा तत्काल सम्बोधन गर्नुस्’, मन्त्री पुनले भने,

‘नियमित विद्युत सेवा पाइरहेका जनताले सेवा अनियमित हुँदा गरेको गुनासालाई नकारात्मक रुपमा नलिऔं, नियमित विद्युत पाउनु जनताको अधिकार हो भन्ने ख्याल गरेर काम गरौं, छिटोभन्दा छिटो गुनासाहरुको सम्बोधन गरौं। मन्त्री पुनले हाल प्राधिकरण कार्यकारी निर्देशकविहीन रहेको विषयसँग जोडेर केही मानिसले सरकार, मन्त्रालय र प्राधिकरणको नियतमाथि प्रश्न उठाइरहेको भन्दै

ती प्रश्नको व्यवहारबाटै जवाफ दिनुपर्नेमा जोड दिए। समय परिस्थिति र घटनाक्रमका कारण पनि सरकार, मन्त्रालय र प्राधिकरणमाथि कतिपय स्वाभाविक, कतिपय अस्वाभाविक र कतिपय नियोजित गुनासा आएका छन्’, मन्त्री पुनले भने, ‘जायज र स्वाभाविक गुनासोलाई सम्मान गर्दै आफ्नो काम इमान्दारीपूर्वक गरौं, नियोजित आशंका आफैं हटेर जान्छन्। मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले नियमित विद्युत पाइरहेका जनता समस्यामा पर्दा शंकाको आँखाले हेर्नु स्वाभाविक भएको बताए।

उनले प्राधिकरणका समस्या समाधान गरी जनतालाई नियमित विद्युत उपलब्ध गराउने काममा मन्त्रालय सधैं गम्भीर रहेको स्पष्ट गरे। मन्त्रालयका प्रवक्ता एवं सह–सचिव प्रवीणराज अर्यालले विद्युत प्रणालीमा आएका समस्याबारे समयमै सही सूचना नपाउँदा कतिपय अवस्थामा जनतामा भ्रम पर्न गएको भन्दै सूचना सम्प्रेषणमा ध्यान दिन सुझाव दिए। प्राधिकरणका निमित्त कार्यकारी निर्देशक कोइरालाले खराब मौसमका कारण समस्या आएको भन्दै मौसममा सुधार आएसँगै धेरै हदसम्म समस्या आफै समाधान भएर जाने जानकारी दिए।

प्राधिकरणका कर्मचारीले रात दिन नभनी समस्या हटाउँदै विद्युत सुचारु गरिरहेको उनको भनाइ थियो। लललितपुरको खोकना र काठमाडौँको ग्राण्डी अस्पताल क्षेत्रमा हाम्रा कर्मचारीले रातभरि काम गरेर अवरुद्ध विद्युत सुचारु गराए’, कोइरालाले भने, ‘तौलिहवामा विद्युत सुचारु गराएर फर्कंदा वितरण केन्द्रका प्रमुखसहित हाम्रा चार कर्मचारी र दुई सर्वसाधारणलाई गाडीसहित खोलाले बगाउनेसम्मको दुःखद घटना भयो।

प्रतिक्रिया दिनुहोस्