नेकपाको बैठक जारी के के आउलान त निर्णय ?

कलाखबर संवाददाता,४ असोज–काठमाण्डौं । नेपाल कम्यूनिस्ट पार्टी नेकपाको बैठक अहिले जारी रहेको छ । गत भदौ २६ गते सम्पन्न स्थायी समिति बैठकका निर्णय कार्यान्वयनका सवालमा छलफल गर्न सचिवालय बोलाइएको हो । पूर्वमाओवादी केन्द्रको कार्यालय रहेको कोटेश्वरस्थित पेरिसडाँडामा ११ बजेपछि बस्ने बैठकमा समसामयिक विषयका साथै पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याउने विषयमा छलफल हुनेछ । यसअघि शुक्रबारका लागि बोलाइएको बैठक नेताहरुको समयअभावका कारण आइतबारका लागि सारिएको थियो ।
एक सचिवालय सदस्यका अनुसार स्थायी समिति बैठकको निर्णय अनुसार सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनगर्ठनको मापदण्डका बारेमा समेत छलफल हुनेछ । सरकार पार्टीको नीतिगत मार्गदर्शनमा सञ्चालन हुनेस्थापित मान्यतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने । सचिवालयका सदस्य कमरेडहरुको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमति तथा सम्वैधानिक व्यवस्था, कानुनी प्रवन्ध र निश्चित
मापदण्डका आधारमा संघीय मन्त्रिपरिषद र प्रदेश मन्त्रिपरिषद्को पुनर्गठन तथा राजनीतिक नियुक्ति सम्बन्धी निर्णय गर्ने’, स्थायी समिति बैठकमा नेकपा अध्यक्षद्वयले गरेको प्रस्तावमा थप भनिएको छ,‘मन्त्रिपरिषद पुनर्गठन र राजनीतिक नियुक्तिका सम्बन्धमा योग्यता, क्षमता, निष्ठा, निरन्तरता, योगदान र राष्ट्रिय दृष्टिले सन्तुलन कायम हुनेगरी मापदण्ड निर्धारण गर्ने । नेकपामा दुई वर्षअघि मन्त्री भएकाहरुलाई निरन्तरता दिने या नदिने भन्ने निक्र्योल भएको छैन ।
कतिपयले साढे २ वर्षअघि मन्त्री भइसकेका सबैलाई बिदा गरेर नयाँलाई मौका दिनुपर्ने बताइरहेका छन् भने कतिपयले कार्यसम्पादनमा कमजोर रहेकालाई मात्रै हटाउनुपर्ने बताउँदै आएका छन् । नेकपाको नौ सदस्यीय सचिवालयमा रहेका तीन जना सदस्यलाई पनि मन्त्रिमण्डलमा समावेश गर्ने या नगर्ने भन्ने प्रश्न पनि पछिल्लो समय उठ्दै आएको छ ।
सचिवालय सदस्यहरु नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र विष्णु पौडेललाई समेत सरकारकामा सहभागी गराएर सरकारका कामकारवाही प्रभावकारी बनाउनुपर्ने एकपक्षको भनाइ छ । तर प्रधानमन्त्री केपी ओली गौतम र श्रेष्ठलाई मन्त्री बनाउने सन्दर्भमा त्यति सकारात्मक नभएको बताइन्छ ।