Logo

प्याजको कालो बजारीमा लागेका तीन जनालाई प्रहरीद्वारा पक्राउ


कलाखबर संवाददाता,१ असोज–काठमाण्डौं । प्याजको कालो बजारीमा लागेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । कालोबजारी गर्न राखेको करिब साढे सात हजार केजी प्याजसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारतले प्याजको निर्यातमा रोक लगाएसँगै नेपालमा प्याजको कालोबाजारी सुरु भएको छ ।

बुधबार सिरहामा अनुगमन टोलीले ७ हजार ४४० केजीसहित संचालकहरुलाई समेत नियन्त्रणमा लिएको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । सिरहाको गोलबजार, मिर्चैया र लहान बजारका पसल तथा गोदाममा प्याजको कालोबजारी भइरहेको विशेष सूचनाको आधारमा ईलाका प्रशासन कार्यालय लहानका प्रतिनिधिसहित उद्योग वाणिज्य संघका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा

जिल्ला प्रहरीबाट खटेको टोलीले बिक्री वितरणको लागि राखेको प्याजसहित पसल तथा गोदामबाट तीनजना संचालकलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले गोलबजारमा रहेको जय लक्ष्मी सब्जी भण्डार पसल तथा गोदामका सञ्चालक मिर्चैया नगरपालिका वडा नम्बर ५ का ४४ वर्षीय उमेशप्रसाद साह, मिर्चैया स्थित रहेको

जय मातादी सब्जी भण्डारका सञ्चालक विनोदकुमार साह र लहान स्थित गंगा ट्रेडर्सका संचालक रामनारायण नायकलाई प्रहरीले नियन्त्रणमा लिई गोदाम सिल समेत गरेर थप अनुसन्धान थालेको प्रहरी प्रवक्ता घिमिरेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्