Logo

आईतबार बिहान सिन्धुपाल्चोकमा फेरि पहिरो गयो, २८ बेपत्ता


कलाखबर संवाददाता,२८–भदौं सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रविसेमाका तीन गाउँमा पहिरो जाँदा कम्तीमा तीनजनाको मृत्यु भएको छ भने २८ बेपत्ता भएका छन् । बाह्रविसे नगरपालिका–७ को भिरखर्क, नागपूजे र नेवा टोलमा पहिरो गएको हो । सबैभन्दा बढी क्षति भएको नागपूजेमा पहिरोले सात घरमा क्षति हुँदा १९ जना बेपत्ता भएको र एकजनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

नागपूजेमा वर्ष ६२–६३ की भक्तिमाया श्रेष्ठको शव भेटिएको उनले बताए । यस्तै भिरखर्कमा आइतबार बिहान चारबजे तिर गएको पहिरोमा परेर २३ वर्षकी जुनु बिकको ज्यान गएको छ । त्यहाँका दुई घर बगाउँदा ६ जना बेपत्ता भएको डिएसजी सापकोटाले जानकारी दिए । यसैगरी नेवा टोलकी ६० वर्षे सर्किनी नेवारको शव फेला परेको छ ।

त्यहाँका दुई घर पहिरोले बगाउँदा तीनजना बेपत्ता भएका छन् । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले पहिरो गएका स्थानमा आर्मी, प्रहरी, सशस्त्र परिचालन भएको जानकारी दिए । प्रभावितको उद्धार तथा बेपत्ताको खोजी कार्य जारी रहेको छ । सन्धुपाल्चोकको लिदीमा गएका साउन ३० गते गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो । दुईजना अझै बेपत्ता छन् ।

 

प्रतिक्रिया दिनुहोस्