Logo

काठमाण्डौं उपत्यकामा अब निषेधाज्ञा खुकुलो गर्ने सरकारको तयारी


कलाखबर संवाददाता,२४ भदौं–काठमाण्डौं । लामो समयको निषेधाज्ञापछि अब भने केही खुकुलो गर्दै लैजाने सरकारले तयारी गरेको छ । मंगलबार तीनवटै जिल्लाका प्रमुखहरु बीच बसेको बैठकबाट सो निष्कर्ष निकालिएको हो । स्रोतका अनुसार आज बुधबार केहीबेरमा तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सबै कुराको निष्कर्ष निकाल्ने बुझिएको छ ।

तीनवटै जिल्ला प्रशासन प्रमुखलाई विभिन्न सरकारी निकाय र सरोकारवालाले निषेधाज्ञा खुकुलो नबनाए जनआक्रोश बढ्न सक्ने सुझाव दिएका छन्। ‘महिनौँदेखि आर्थिक गतिविधि ठप्प हुँदा मानिसहरु संकटमा छन्। उनीहरुमा रोगभन्दा पनि भोकको समस्या चर्कँदो छ। यस्तो अवस्थामा मानिसहरुलाई फेरि पनि थुनेर राख्ने हो भने जनआक्रोश थाम्न सकिने अवस्था नरहने सुझाव जिल्ला प्रशासन प्रमुखलाई दिएका छौँ’, एक जिल्लाका सुरक्षा प्रमुखले भने।

काठमाडौँ उपत्यकामा भदौ ३ गतेदेखि निरन्तर लागु भइरहेको निषेधाज्ञाको पछिल्लोपटक थपिएको समय बुधबार मध्यरातबाट सकिँदै छ। स्रोतका अनुसार सवारी साधनलाई जोर बिजोरका आधारमा सन्चालन गर्ने, विभिन्न व्यवसायलाई बारका आधारमा खोल्न दिने गरी निषेधाज्ञा खुकुलो बनाइँदै छ।

 

प्रतिक्रिया दिनुहोस्