पत्रकारको ज्याकेट दुरुपयोग गरि प्रहरीलाई ढंगा हान्ने एक युटयूबर पक्राउ

कलाखबर संवाददाता,१९ भदौ–काठमाण्डौं । बिहिबार पुल्चोक स्थीत रातो मछिन्द्रनाथको रथ तान्ने जात्रामा एक्कासी प्रहरी र स्थानीयहरुबीच झडप भएको छ । सो झडपमा कुन पत्रकारको हो र कुन युटयूबर हो चिन्नै गाह्रो भएको थियो । मिडिया हाउसमा काम गर्ने वास्तविक सञ्चारकर्मी र युटयूबर दुवैले प्रेस लेखेको ज्याकेट लगाएका थिए । त्यसमध्यको एक प्रेस ज्याकेट लगाइएका युटयूबरले प्रहरीलाई ढंगा प्रहार गरेका थिए । सो युटयूबरलाई अहिले प्रहरीले पक्राउ गरि सकेकोे छ ।
प्रेस लेखेको ज्याकेट लगाएका र हातमा क्यामेरा बोकेर प्रहरीतर्फ ढुंगा हान्ने उनलाई शुक्रबार अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । उनी महालक्ष्मी नगरपालिका– १ इमाडोलका २१ वर्षका अनिश महर्जन हुन् । उनी कुनै सञ्चार माध्यममा संलग्न नरहेको र प्रेस कार्ड पनि नभएको पाइएको अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए । पछिल्लो समयमा प्रेस सामाग्रहरुको निकै दुरुपयोग हुन थालेका हुन् ।
गीत संगीत क्षेत्रमा लाग्ने कलाकारदेखि सामाजिक अभियानमा लाग्ने अभियन्ता तथा व्यापारीहरु समेतले पनि नक्कली प्रेस कार्ड र ज्याकेटको दुरुपयोग गर्न थालेका छन् । लकडाउन सृजना भएपछि अहिले सडकमा अत्याधिक रुपमा हरियो ज्याकेट र घाटीमा कार्ड झुण्ड्याएका मानिसहरु हिडेको देख्न सकिन्छ । तर सञ्चार गृहमा कार्यरत प्रत्रकार सीमित मात्र हुन भने बाँकी सबै युटयूबरहरु हुन् । उनीहरु साच्चिैको समाचार संकलन र रिपोर्टिङमा गएको नभएर भाइरल व्यक्तिहरुको अन्तरबार्ता लिन गएका हुन् ।
कोही भने जहाँ बलत्कार आत्माहत्या हुन्छ, या त जहाँ परिवारिक झगडा भएको हुन्छ, त्यहाँ भिडियो बनाउन गएका हुन् । घाँटीमा नक्कली कार्ड र हातमा क्यामेरा देख्दा पीडितहरु पत्रकार नै हो भन्ने विश्वास गर्छन र आफ्नो सबै नालीबेली खुलाउछन् । भावुक भन्दै युटयूबरहरुले मजाक शैलीमा पीडितहरुको सबै नालीबेली खोतल्छन् । अनि जब घटना स्थलबाट उम्किए पछि उनीहरुले नानाथरी शीर्षक राखेर उल्टै पीडितहरुको खिल्ली उडाउछन् । उस्तै परयो भने उनीहरुले प्रतिबाद मात्र होइन हात छोड्न पनि बाँकी राख्दैनन ।
जस्तै पूण्य गौतममाथी केही महिना अगाडी भएको हमला र हिजो मात्र प्रहरी माथी प्रहार भएको ढुंगा गतिलो उदाहरण हुन् । उनीहरु आफै न्याधीस,आफै प्रहरीको शैलीमा हकारपकार पनि गर्छन् र कुनै झगडा मिलाउनेदेखि सबै काम गर्न खोज्छन् । अन्तिममा बल्ल केही सीप नलागेपछि प्रहरीलाई गुहार्छन् । पीडितलाई केही बोल्न पनि नदिई उनीहरु आफै बयान पनि दिन्छन् । युटयूबर कहिले पनि पत्रकार हुन सक्दैन तर पत्रकार युटयूबर हुन सक्छन् । पत्रकारिता क्षेत्र अध्यन गरेर आएका र मिडिया हाउसमा काम गरि सकेका व्यक्तिहरुले पनि युटयूब चलाई रहेका छन् ।
उनीहरुले पत्रकारिताको मापदण्ड र सिद्धान्तमा आधारित भएर सामाग्रीहरु प्रस्तुत गर्ने गर्छन् । तर बीना अध्यनका युटयूबरहरुले भ्यूको मात्र ख्याल गर्छन । उनीहरुले सामाजिक अस्तित्व र पीडितहरुको अस्मिता जोगाउने गर्दैनन् । छाँडा र समाजले नपच्ने किसिमको प्रश्न सोध्छन् । जसको परिणाम स्वरुप अहिले सामाजिक सञ्जाल भरि गाली बेइजत आउछ । दुर्भाग्यबश यस किसिमको अपजसको भागीदार वास्तविक मिडियाकर्मीले पनि बेहोर्नु परेको छ ।