कालिकोट पहिरोमा १० को मृत्यू थप विवरण आउदै
कलाखबर संवाददाता,१५ भदौं –कालीकोट । आईतबार दिउसो कालीकोट नाग्म बजारमा पहिरो गएको छ । सो पहिरोमा परि एकै परिवारका चार जना गरी १० जनाको ज्यान गएको छ भने बाँकी विवरण आउन बाँकी नै रहेको छ । घाइते दुई जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ । सो पहिरोले तीन घर पुरिएको छ ।
पहिरोमा पुरिएर पसल गरी बस्ने ३६ वर्षीय प्रयाग शाही, उनकी ८ वर्षीया छोरी हिमा शाही, ५ वर्षीय छोरा निराजन शाही र २ महिनाको छोराको मृत्यु भएको इन्सपेक्टर यक्षराज जोशीले जानकारी दिए । शाही परिवारको घर शुभकालिका गाउँपालिका मुंग्रा भए पनि नाग्ममा पसल गर्दै बसेका हुन् ।
यसैगरी अर्को एक परिवारका तीन सदस्यको पनि सोही पहिरोमा परेर मृत्यु भएको छ । मृत्यु हुनेमा तिलागुफा–१ का ३० वर्षीय टेकबहादुर दमाई, उनकी श्रीमती २५ वर्षीया छैली दमाई र ६ वर्षीय छोरा गजेन्द्र दमाईको मृत्यु भएको छ ।
यसैगरी तिलागुफा १ कै ३५ वर्षीय मनविर कटुवालको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ ।
यस्तै सुर्खेतको विरेन्द्रनगर नगरपालिका घर भएका वर्ष ४८ की आइती खड्का र उनकोमा काम गर्ने २२ वर्षीय अमृत थापाको पनि सोही पहिरोमा ज्यान गएको इन्सपेक्टर जोशीले जानकारी दिए ।